काठमाडौँ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायायधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसदको संसदीय सुनुवाइ समितिले बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।
श्रेष्ठविरुद्ध उजुरीका लागि दश दिनको समय दिँदै समितिले मर्यादित भाषामा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी दिन सकिने छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन चाहने व्यक्तिहरूले संसद सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरवारस्थित सचिवालयको कार्यालय पुगी सूचना वा उजुरी दिन सक्नेछन् ।
सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने पनि सूचनामा उल्लेख छ ।
संवैधानिक परिषद्ले साउन १८ गते बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट श्रेष्ठको नाम अनुमोदन भए मात्र राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । यदि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन ग¥यो भने ३१ औं प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हाल्ने छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०