काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिंचाइ सुविधाका लागि पूर्व पश्चिम नहर निर्माणको आवश्यकता औल्याएका छन् । कृषियोग्य जमिन प्रयाप्त हुँदाहुँदै पनि सिंचाइ असुविधाले एक तिहाई जग्गा बाँझो रहेको उल्लेख गर्दै मन्त्री भुसालले पूर्व पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बार्षिक समिक्षा गोष्ठिलाई सोमबार बोल्दै मन्त्री भुसालले भने, ‘कुल खेतीयोग्य जमिनको झण्डै एक तिहाई जग्गा आजपनि बाँझो छ । प्रयाप्त पानी नपर्दा तराई क्षेत्रका किसालले धान रोप्न पाएका छैनन् । रापेको खेतको धाँजा फाटेको छ । किसानले निधारमा हात राखेर पीडाबोध गरिरहेको दृश्य देखिन्छ । यो सबै सिंचाई नहुँदा कृषिमा देखिएको समस्या हो । अब सिंचाइको सुविधाका लागि पूर्व पश्चिम नहर निर्माण गर्नुको विकल्प छैन् ।’
सिंचाईमा जोड दिदैँ मन्त्री भुसालले थपे, ‘सिंचाई सुविधा बिना केही गर्न सकिदैन, अब पूर्व पश्चिम नहर बनाएर अगाडि जानुपर्छ । यस विषयमा मैले निरन्तर कुरा उठाइरहेको छु । देशका ठूला ठूला नदीबाट तराई र पहाडको चुरो क्षेत्र हुँदै पूर्व पश्चिम नहर बनाएर जान सके मात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिन्छ ।’
देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासको कुरा गर्ने तर सिंचाईको सुविधा पु¥याउन नसक्नु दुर्भाग्य भएको उनले बताए ।
साथै मन्त्री भुसालले चैते धानको उत्पादनमा जोड दिए । प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्नेमा उनको जोड थियो । भारतले चामल निर्यात रोकिसकेको भन्दै अब धानको उत्पादनलाई बढाउनुपर्ने र चैते धानको खेती तर्फ किसानलाई आकिर्षत गर्नुपर्ने उनले बताए । विश्वमा खाद्यान्न संकट बढ्दै गएको प्रसंग निकाल्दै नेपालमा प्रयाप्त खेतीयोग्य जमिन रहेको हुँदा खाद्यान्न संकट आइनपर्ने बताए ।
खाद्यान्न संकट आउन नदिन बाँझो जग्गाको उपायोग गरी सिंचाईमा लगानी लगाउनुपर्ने बताए । उत्पादन वृद्धिमा सँगसँगै बीउविजन र रासायनिक मल पनि रहेको बताएर जमिन, सिंचाई, बीउ र रासायनिक मल हुँदा मात्र कृषिको उत्पादन बढ्ने उनको तर्क थियो । मन्त्री भुसालले बाँझो जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिए । जमिनको चक्लाबन्दी गर्नुपर्ने भन्दै मन्त्रायलले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।
मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान कृषि र पशुपालनको क्षेत्रबाट मात्र सम्भव भएको बताए । ‘अहिले देखिएको अर्थतन्त्रको समस्या कृषि र पशुपालनबाट मात्र समाधान हुन सक्छ । कृषिमा लगानी गर्यौं भने ६ महिनामै प्रतिफल दिन्छ । यति धेरै महत्वको क्षेत्रलाई हामी नजरअन्दाज गर्न सक्दैनौं मन्त्री भुसालले भने, ‘राष्ट्रिय अर्थतन्त्रलाई बलियो पार्न र तत्काल देखिएको समस्या समाधान गर्ने भनेकै कृषि र पशुपालनबाट हो ।’
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०