काठमाडौँ । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा बसेको शीर्ष नेताहरूको बैठक सकिएको छ । अबरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा सोमबार दिउँसो छलफल भए पनि शीर्ष नेताहरू सहमतिमा पुगिसकेका छैनन्।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरूबीच छलफल सकारात्मक रहेको बताए। ‘आजै अपराह्न साढे ३ बजे नयाँ बानेश्वरमा फेरि शीर्ष नेताहरूबीच बैठक गर्ने गरी अहिले उठेका छौं,’ लेखकले भने, ‘प्रतिनिधि सभा बैठक चलाउनेबारे कुराकानी भयो। सूचना टाँसेर आजै अपराह्न ४ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने कुरा भएको छ।’
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारी प्रतिनिधि सभा बैठक आजै अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०