काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसलाई दक्षिणपन्थी टिप्पणी गर्दै उसविरुद्धको सङ्घर्ष केन्द्रित गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।
पार्टीको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले कांग्रेसलाई मित्र र एमालेलाई शत्र शक्ति ठान्न नहुने उल्लेख गरेका छन् ।खनालले राजनीतिक प्रतिवेदनमा एमालेसँग सौद्धान्तिक अन्तरविरोध भएपनि राजनीतिक रूपमा मित्र शक्ति ठान्नुपर्ने बताएका छन् ।
खनालले प्रस्तुत गरेको १६ पृष्ठको राजनीति प्रतिवेदनमा काँग्रेस मुख्य दक्षिणपन्थी रहेको बताएका छन् । ‘यतिबेला मुख्यतः दक्षिणपन्थी शक्ति नेपाली काँग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तर्विरोध प्रधान राजनीतिक अन्तरविरोध हो,’ उनले भनेका छन् ‘अरु सबै प्रतिक्रियावादी गुटहरूसँगको अन्तरविरोधहरू तिखा भएर पनि तिनीहरू सबै गौण अन्तर्विरोध नै हुन् ।
उनले सबै वामपन्थी राजनीतिक समूह वा समाजवादी तथा लोकतान्त्रिक राजनीतिक समूहहरूसँगका राजनीतिक अन्तरविरोधहरू मित्रतापूर्ण अन्तरविरोधहरू भएको बताएका छन् ।एमालेलाई शत्रु शक्ति घोषणा गरेर जाने र दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने धारणाबाट सतर्क हुनुपर्ने
बताएका छन् ।
‘एमालेको नेतृत्वसँग हाम्रो पार्टीको वैचारिक अन्तरविरोध चर्को छ, तर राजनीतिक शक्तिको हिसाबले त्योसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो,‘उनले भनेका छन् ‘एमालेलाई शत्रु शक्ति जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई ‘मित्र ठान्ने’ र एमालेलाई ‘मुख्य निशाना’ ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनु पर्छ । आजको मुख्य सङ्घर्ष नै दक्षिणपन्थी र वामपन्थीबीचको सङ्घर्ष हो ।’
एमालेबाट विभाजित भएर २०७८ भदौमा एकीकृत समाजवादी बनेको हो । एमाले र एकीकृत समाजवादीका नेताहरू एक अर्कोप्रति कटाक्ष गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०