काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव सङ्कलन गर्ने भएको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरी नागरिककहाँ पुगेर दस्तावेजका लागि सुझाव सङ्कलन गरिने भएको छ ।
पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव सङ्कलन गर्ने भएका छन् । कुन कुन स्थानमा पुग्ने र कहिलेबाट सुझाव सङ्कलन गरिने निक्र्यौल भने भइसकेको छैन ।
महामन्त्री मुकुल ढकालका अनुसार भौगोलिक र समुदाय फरक पर्ने गरी ५१ स्थानबाट सुझाव सङ्कलन गरिने भएको छ । सुझाव सङ्कलनका क्रममा स्थानीयबासिन्दासँग अन्तरक्रिया समेत गरिने रास्वपाले जनाएको छ ।
सुझाव सङ्कलन गरिने स्थान छनोट गर्दा एउटै जिल्लाका दुई ठाउँ नहुने गरी ५१ गाउँ चयन गर्ने तयारी गरिएको छ । भौगोलिक र समुदायमा विविधता हुने गरी ठाउँ निश्चित गर्ने जिम्मेवारी दस्तावेज तयारी समितिका सदस्य मनिष झालाई जिम्मेवारी दिइएको छ ।सुझाव सङ्कलनका लागि खटिँदा टोलीका सदस्य आफ्नो गृह क्षेत्रमा भने जान पाउने छैनन् ।
‘नयाँ युगको सङ्कल्प’ दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डल सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ । तीन गाउँ पुग्नुपर्ने भएकाले १५ दिनको अवधि तोकिएको छ ।
गत जेठमा महामन्त्री ढकालले पार्टी बैठकमा राखेको दस्तावेज विवादमा परेपछि नीति तय गर्नका लागि १७ जनाको टोली असार पहिलो साता गठन गरिएको थियो ।
दस्तावेज तयार गर्नका लागि बनेको टोलीमा नेताहरू मुकुल ढकाल, कवीन्द्र बुर्लाकोटी, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सोविता गौतम, सुमना श्रेष्ठ, मनिष झा, डा. तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, रमेश प्रसाईँ, कमल सुवेदी, गणेश पराजुली, विपिन कुमार आचार्य, क्रान्तिशिखा धिताल, र शङ्कर श्रेष्ठ छन् ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०