काठमाडौँ - पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । कुनै पनि व्यक्तिले दिनभरिमा २ देखि ३ लिटर पानी पिउनुपर्छ भनिन्छ । तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हालै एक महिलामाथि यस्तै भएको छ । एश्ले समर्स नामकी यी महिलाको अचानक एक विकेन्ड ट्रिपका क्रममा मृत्यु भयो । ३५ वर्षकी एश्ले आफ्ना श्रीमान्, ८ र ३ वर्षका दुई छोरीसँग दुई दिनका लागि विकेन्डमा बाहिर गएकी थिइन् । अन्तिम दिनमा उनी अचानक बिरामी भइन् ।
एश्लेका भाइ डेभोन मिलरले wrtv.com सँग गरेको कुराकानीमा एश्लेको सामान्य दिनमा पनि धेरै पानी पिउने बानी भएको जानकारी दिए । अमेरिकी राज्य इन्डियानको भ्रमणका बेला उनले बोटिङ गरिन् । भ्रमणका बेला एश्लेलाई डिहाइड्रेसनको समस्या हुन थाल्यो, मौसम गर्मी थियो । यसै कारण उनलाई लगातार टाउको दुखिरहेको थियो । त्यसैले शरीरलाई हाइड्रेट गर्नका लागि एश्लेले केही मिनेटभित्र लगभग दुई लिटर पानी पिइन् । जानकारीका अनुसार एश्लेले २० मिनेटभित्र ४ बोतल पानी पिइन् । ती बोतलमा आधा लिटर पानी थियो । साधरणतया यति पानी पिउन कोही व्यक्तिलाई दिनभरिको समय लाग्छ ।
वाटर टक्सिसिटीका कारण भयो मृत्यु
यति पानी पिएपछि एश्ले अचानक ढलिन्, त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो र आइसियुमा भर्ना गरियो । तर त्यहाँबाट उनी कहिल्यै फर्किएर आइनन् । अस्पतालले एश्लेको अचानक मृत्युको कारण वाटर टक्सिसिटी बताएको छ ।
परिवारले बताए अनुसार एश्लेको दिमाग सुन्निएका कारण शरीरको अङ्गमा रगतको आपूर्ति बन्द भएको थियो । वाटर टक्सिसिटीको समस्या हुन त निकै दुर्लभ मानिन्छ तर कोही व्यक्तिले आवश्यकताभन्दा बढी पानी कम समयमा पिएको खण्डमा यस्तो हुन्छ । कम समयमा धेरै पानी पिउँदा यसमा भएका इलेक्ट्रोलाइट्स रगतमा घोलिने गर्छ । यसको लक्षणको कुरा गर्ने हो भने मानिसलाई बान्ता हुने, टाउको दुख्ने हुन्छ । यसका साथै भ्रमित हुने, थकाइ लाग्नेलगायतका समस्या पनि देखिन्छन् ।
एश्लेका भाइले उनले पानीको साटो अरू केही पिएको भए वा बिस्तारै–बिस्तारै पानी पिएको भए उनी जिउँदो हुन्थिन् कि भन्ने आशा राखेका छन् । उनी केही वर्षदेखि डे केयर सेन्टरमा काम गरिरहेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०