काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी भइरहेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् । नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुङ्ग्याएको छ ।
भर्खरै सकिएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए
यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई सिफारिस गरेको थियो ।
कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा मन्त्री टुङ्ग्याउने कांग्रेसको तयारी छ । बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ । कांग्रेसले पनि आजै नाम टुङ्गो लगाउने र सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०