काठमाडौँ । पशु चौपायामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राख्दै सर्लाहीको हरिवनमा शुक्रबार पीडितहरूले प्रदर्शन गरेका छन् ।
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी हरिवन बजारक्षेत्रमा मध्यान्ह करिव दुई घण्टा राजमार्ग अवरुद्ध पारेका छन् । महासङ्घले लम्पी स्कीन रोगलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानी हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
लम्पी स्किनले पशु चौपाया धमाधम मर्दा पनि रोगविरुद्धको खोप लगाउन बेवास्ता गरिएकाले सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले चक्काजाम गरिएको अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
उनीहरूले गत वर्ष पुस-माघमै बिक्री गरेको उखुको सरकारले प्रदान गर्नुपर्ने अनुदान रकम (प्रतिक्विन्टल ७०) रुपियाँ तत्काल प्रदान गर्न महासङ्घले माग गरेका छन् । चिनी उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान किसानहरू सरकारले सात महिनासम्म अनुदान रकम नदिएको गुनासो उनीहरूको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०