काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्तिले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशिका जारी गरी २५ लाख रुपैयाँभन्दा बढी ऋण लिने व्यक्तिले अनिवार्य रूपमा पान लिनुपर्ने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकामा यस्तो संशोधन गरिएको छ।
यसअघि ऋण रकमको सीमा ५० लाख थियो। ऋणलाई पारदर्शी बनाउन गरिएको यो व्यवस्थाले साना ऋणीलाई केही जटिलता थप्नेछ।
केन्द्रीय बैंकले निर्देशिकामार्फत शेयर धितोमा दिइने ऋणमा भने केही लचकता अपनाएको छ। बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने ५० लाखसम्म ऋण दिँदा १०० प्रतिशतसम्म मात्रै जोखिम भार राखे पुग्ने भएको छ। यसअघि २५ लाख रुपैयाँसम्म मात्रै यस्तो सीमा थियो।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०