काठमाडौँ । मोटरसाइकल लगायत विभिन्न सामान चोरीमा संलग्न रहेको आरोपमा धनुषामा ३० युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। केही दिनयता पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
मोटरसाइकल लगायत सरसामान चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका युवक १७ देखि ३८ वर्षसम्मका छन्। मोटरसाइकलसँगै हेल्मेट, धर्मशालामा चोरी गर्ने, पसलबाट नगद चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रसाद गौतमले बताए।
डीएसपी गौतमका अनुसार केही व्यक्ति यसअघि पनि चोरीको आरोपमा पक्राउ परेका थिए। पटक पटक पक्राउ परेका उनीहरूले चोरी गरेको स्विकारेको पनि डीएसपी गौतमले बताए।
गत आर्थिक वर्षमा धनुषा प्रहरीमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएका थिए। जसमध्ये ८१ वटा मोटरसाइकल खोजबिन गरेर सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए। त्यस्तै, चोरी भएका ३६५ मध्ये २६० मोबाइल फेला परेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०