काठमाडौँ । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ। कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निर्णय लिएको हो ।
कलाकार पल शाहलाई आफ्नो शोमा बोलाएर उनले बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको छ । गत असार २३ गते प्रशारित उक्त शोमा छनोट गरिएका पत्रसँगको संवाद संस्थाको सम्पादकीय नीतिविपरीत रहेको टेलिभिजनले जनाएको छ । सोहीअनुसार उक्त सामग्री युट्युबबाट हटाइएको भन्दै टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रशारण पूर्णत रोकिएको जानकारी गराएको छ ।
टेलिभिजनले भनेको छ, ‘गत असार २३, शनिबार प्रसारित “हृवाट द फ्लप” मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै “हृवाट द फ्लप” कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं ।’त्यसको सातो चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने पनि टेलिभिजनले जनाएको छ ।
बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक-पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०