काठमाडौं : व्यवसायी दीपक मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो घटनामा आफू निर्दोष रहेको स्पष्ट पारे।सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनको दावी छ।
‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मल्होत्राले भनेका छन् ।
'सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैन। म नेपालमा बसोबास गर्ने व्यक्ति हुँ। काम विशेषले कहिलेकाही विदेश जाने गर्छु,' उनले भने,'दोषी ठहरिए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार छु।'
‘मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन,’ उनले भने, ‘समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ । आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०