काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ।
यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेल नायक बने। बलिङमा युएई ए को ६ विकेट लिएका भुर्तेलले बिस्फोटक ब्याटिङ गरे। ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै भुर्तेलले ७१ रनको महत्वपूर्ण योगदान गरे।
देव खनाल र सन्दीप जोराले समान २४ रन जोड्दा गुल्सन कुमार झा ११ र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। प्रतिस जिसि ८ र कुशल मल्ल २ रनमा अविजित रहँदा पवन सर्राफ शून्यमा आउट भए।
श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। युएई ए का लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। युएई ए लाई सस्तैमा समेट्न भुर्तेलले ६, श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक/एक विकेट खसाले ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई ए पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपाल र युएइ ए बाहिरिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट श्रीलंका ए र अफगानिस्तान ए सेमिफाईनलमा प्रवेश गर्दा समुह बी बाट भारत ए र पाकिस्तान ए ले अन्तिम चारमा स्थान बनाएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०