काठमाडौँ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभाग कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक मनोज रानामगर विरुद्ध प्रहरी प्रधान कार्यालयले आन्तरिक छानविन सुरु गरेको छ । आर्थिक हिनामिना र पदको दुरुपयोग गरि तल्लो दर्जाका प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा रानामाथी उजुरी परेको छ । यसअघि पनि पटक पटक बिभिन्न आरोपमा उजुरी परेका उनलाई उच्च अधिकारीहरूको आर्शिवादमा उन्मुक्ति दिइदै आएको थियो । एउटै कर्मचारी लामो समय उही शाखामा बस्न नहुने प्रावधान विपरित रानामगर भने लामो सयम देखि कर्मचारी प्रशासन शाखामा कार्यरत रहँदै आएका छन् । संवेदनशिल आरोपमा उनीमाथि उजुरी पर्दा पनि उनको सरुवा सम्म गरिएको छैन ।
कर्मचारी प्रशासन शाखा प्रहरी भित्रको शक्तिशाली शाखा हो । जहाँ उनले प्रत्येक पटकको सरुवा बढुवामा उच्च कर्मचारीहरूसँग मिलेर आर्थिक लेनदेन गर्दै आएका छन् । आर्कषक ठाउँमा सरुवा गरिदिने भन्दै उनले प्रहरी कर्मचारीहरूसँग लेनदेन गर्ने गरेको प्रहरी प्रधान कार्यालय श्रोतले आजको न्युजलाई बताएको छ । रानामगर माथि यसपटक खासगरि परिचरहरुमाथी दुर्व्यवहार गर्ने गरेको उजुरी परेको हो । रानामगरले परिचरहरुलाई व्यक्तिगत काममा परिचालन गर्ने, काम गरिरहेकाहरूलाई बिना कारण टर्चर गर्ने गरेको आरोप छ । रानामगरले कार्यालयका परिचरहरुलाई आफ्नो लुगामा आइरन गर्न लगाउने, लुगा धुन लगाउने र अन्य घरायसी काम गर्न लगाउने गरेका छन् । जबकी त्यस्तो सुविधा प्रहरी नायब उपरीक्षक स्तरका अधिकृतहरूले पनि कम्तीमा प्रधान कार्यालय भित्र पाउने गरेका छैनन् । उनले परिचरहरुले आफ्नो व्यक्तिगत काम गर्न आनाकानी गरे बिदा कटौती गरिदिने र चौविसै घण्टा कार्यालयमा रहनुपर्ने बाध्यता खडा गरिदिने धम्की दिने गरेको उनीबाट पीडित एकजना परिचरले आजको न्युजलाई बताएका छन् । यतिमात्रै होइन प्रहरीको मुटुको रुपमा रहेको कर्मचारी प्रशासनमा आउने देशभरका कर्मचारीलाई एउटा फोटोकपीकै आग्रहमा पनि दुर्वचन गर्ने गरेको गुनासो रहेको छ ।

खासमा प्रहरी उच्च अधिकारीहरू त्यो शाखामा बढिमा एकबर्ष भन्दा बढि कोही पनि रहने गरेका छैनन् । रानामगर लामो समय देखि सोही शाखामा रहने गरेकाले उच्च अधिकारीहरूले पनि आफ्नो स्वार्थ उनै रानामगर मार्फत पुरा गर्ने गरेका कारण उनले यस्तो हैकम देखाउने गरेको आरोप छ । उनले परिचर र आफूभन्दा तल्लो दर्जाका कर्मचारीमाथि निरन्तर अमानवीय व्यवहार प्रदर्शन गदैृ आएका छन् । रानामगरको छानविन बारे प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी हेर्ने निकायले आफ्नो काम गरिरहेको आजको न्युजलाई बताएका छन् । प्रवक्ता कडायतका अनुसार त्यस्ता उजुरी र उजुरी उपर छानविन चलिरहने भएकाले दोषी देखिए कारवाही हुने जानकारी दिए । छानविन समितिले उनीमाथि अनुसन्धान सुरु गरेको प्रधान कार्यालयले जानकारी दिएको छ ।
तल्लो दर्जाका कर्मचारीमाथि निरन्तर दुर्व्यवहार गरेर पनि उन्मुक्ति पाउँदै आएका आएका रानामगरमाथीको कारबाही यसपटक के हुन्छ त्यो भने हेर्न बाकि नै छ ।
यस्तो छ उजुरीको व्यहोरा :
१)यस कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगीहरूलाई आफ्नो ब्यक्तिगत काम जस्तै लुगा धुवाउने,बैङ्कहरुमा पठाउने,खाजा नास्ता टेबुलमा पुराउन लगाउने (जुन सुबिधा यस कार्यालयमा सिनियर प्रहरी कर्मचारी लाई पनि छैन) लुगा सिलाउन लगाउने र उक्त काम ईन्कार गरेमा बिदा छोडदिन,दिन भरी अफिसमा बस्ने वातावरण बनाउछु भनि धम्कि दिने गरेको छ । २)कार्यालयको सरसफाईको हकमा कार्यालय प्रमुखबाट कार्यालयको सम्पुर्ण सरसफाईको जिम्मा प्रहरी कार्यालय सहयोगीलाई दिने भन्ने स्पष्ट आदेश हुदा पनि उक्त आदेशको बर्खिलाप गरी सरुवा,बढुवा जस्ता पावरफुल शाखा जुन शाखाबाट बहाले सरुवा,बढुवा गरेबापत आर्थिक लाभ लिनुहुन्छ ति शाखाहरुको मात्र सरसफाई गराउन प्रकास हरुलाई आदेश दिने गरेको र अन्य शाखाहरु र ट्वाईलेट सम्मको सरसफाई प्रहरी हवल्दार दर्जासम्म लगाउने गरेको । ३)बिदा,ईमरजेन्सी आउट जाने सम्बन्धमा सम्बन्धित फाँट ईन्चार्जहरुलाई निकम्मा बनाई चेन अफ कमाण्डलाई बर्खिलाप गरी "सिधै मलाई मात्र सोधेर जाने होईन भने मैले जान्या छू" भनेर धम्कि दिने र काम बिशेषले बाहिर जान परेमा र वहालाई सोध्न गएमा किन जाने? तिम्रो मात्र काम छ ? ब्वाईफ्रेन लाई भेटन जाने हो भनेर अनावश्यक कुरा गरी तुच्छ व्यवहार गर्ने गरेको । ४)बाहिर बाट कामको सिलशिलामा यस कार्यालयमा आउने प्रक हरुको काम पेण्डिङमा राखिदिने र वहाहरुले केहि जिज्ञासा राख्न खोजेमा ठुलो स्वरमा तुच्छ व्यवहार गरी यस शाखाको प्रतिष्ठामा आच आउने काम गर्ने गरेको । ५)महिला प्रकहरु बिदा पेश गर्न गएमा कस्लाई भेटन जाने ? लभ परेको छ कि छैन जस्ता अनावश्यक प्रश्न गरी टर्चर दिने गरेको । ६) यस कार्यालयमा कार्यरत सिप्रअ दर्जासम्मले पैसा तिरेर पानि र खाजा खान परिरहेको परिपेक्ष्यमा निज मनोज राना मगर ले सबै कुरा सित्तैमा खाने गरेको यदि परिचरले ईन्कार गरेको खण्डमा सामेल गरेर अनावश्यक तनाव दिने गरेको । ७) कार्यालयमा खटाईने डिअ डिउटिको सम्बन्धमा पावरफुल शाखामा काम गर्ने आफ्नो अनुकुलका कर्मचारीहरुको डिउटी हाल्दै नहाल्ने र उनिहरुलाई सरुवा,बढुवाको काम लगाई आर्थिक लाभ लिने गरेको । ८)पछिल्लो समय बिभागिय प्रमुखले प्रबनानि दर्जासम्म डिअ डिउटी खटाउनु भनेर आदेश दिएकोमा उक्त डिउटी आफुले कहिल्यै नगर्ने र अरुलाई बारम्बार दोहोर्याई डिउटि हाल्ने गरेको । ९) निज मनोज राना मगर यस कार्यालयमा बिगत लामो बर्षदेखि बस्दै आएको र आर्थिक लाभ यहि हुने भएकोले अन्यन्त्र सरुवा जान नमानेको हुदां निजलाई छानबिन गरी यस शाखाबाट सरुवा गरी प्रहरी महानिरीक्षक ज्युको संगठनको आन्तरीक सुद्दिकरण भिष्म प्रतिज्ञाले मुर्तरुप दिलाईदिन हुन हार्दिक अनुरोध गर्दछौ । यो गुनासो केहि ब्यक्ति बाहेक यस कार्यालयमा कार्यरत सम्पु्र्ण कर्मचारीहरुको हो । यदि सम्बन्धित निकायबाट हामिलाई न्याय प्राप्त भएन भने हामि राज्यका अन्य निकायमा न्यायको लागी जान बाध्य हुनेछौ । वहाले गरेका ज्यादतिहरुको पिडा धेरै प्रकहरुले व्यक्त गर्न सकेका छैनन ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८०