काठमाडौँ -राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औँ जयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्द्वारा विहान भानु माध्यमिक विद्यालय, दरबार हाईस्कूल अगाडि रहेको नेपालकै पहिलो आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण गरियो ।
सम्माननीय सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्य तथा परिषद्का अध्यक्ष श्री रमा शर्माको सभापतित्वमा सम्पन्न समारोहमा सम्माननीय सभामुख तथा अध्यक्षले प्रतिमामा माल्यार्पण गरेपछि संस्कृतिविद् डा. जगमान गुरुङ, परिषद्का सदस्य सचिव श्री लक्ष्मण थापा, सदस्य श्री दिव्यचन्द्र आचार्य,भानु मा.वि.का प्रधान अध्यापक, वरिष्ठ साहित्यकार, समाजसेवी, बुद्धिजीवि लगायत सर्वसाधारणले भानुको प्रतिमामा माल्यार्पण गरे । प्रमुख अतिथि सम्माननीय सभामुखले २००८ सालमा स्थापित नेपाली शिक्षा परिषद्ले नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेर निरन्तर रुपमा अगाडि बढीरहेकोमा खुशी प्रकट गर्नुका साथै आदिकविप्रति श्रद्धा अर्पण गरे।
अपरान्ह लेखनाथ साहित्य सदनको सभाकक्षमा परिषद्का अध्यक्ष श्री रमा शर्माज्यूको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकार प्रा. श्री घनश्याम कँडेललाई आदिकवि भानुभक्त पुरस्कार अर्पण गरिने समारोहमा हिन्दु विद्यापीठ, बालकुमारीका बालबालिकाद्वारा आदिकवि विरचित कविता चपला अवला... को सुमधुर तथा आकर्षक साङ्गीतिक गायन प्रस्तुत गरियो ।
परिषद्का सदस्य डा. इन्दिरा शर्माले स्वागत मन्तव्य व्यक्त गरेपछि सदस्य सचिव श्री लक्ष्मण थापाले आदिकविप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रमबारे प्रकाश पारे। उनले पुरस्कार अक्षयकोषका दाताप्रति धन्यवाद ज्ञापन गर्दै पुरस्कृत व्यक्तिलाई बधाई ज्ञापन गरे । सभापतिले पुरस्कृत व्यक्तित्व श्री घनश्याम कँडेललाई माल्यार्पण गरेपछि प्रमुख अतिथिज्यूले सम्मानपत्रसहित रु.१,२५,००० राशिको आदिकवि भानुभक्त पुरस्कार प्रदान गरे ।
पुरस्कृत व्यक्तित्वको परिचय श्री कोषराज न्यौपानेले प्रस्तुत गरे भने पुरस्कृत व्यक्तिले पुरस्कार प्राप्त भएकोमा हर्षित हुँदै आफूलाई थप उर्जा प्रदान भएको वताए । प्रमुख अतिथि श्री गङ्गाप्रसाद उप्रेतीले नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्तको नाममा पुरस्कार स्थापना गरेर सराहनीय कार्य गरेको उल्लेख गरे ।
विशिष्ट वक्ता वरिष्ठ साहित्यकार श्री राजेन्द्र विमलले आफुले पनि २०७४ सालमा पुरस्कार पाइसकेको स्मरण गर्दै आदिकविप्रति श्रद्धाञ्जली व्यक्त गरे । कवि श्री प्रल्हाद पोख्रेलले भानुभक्त विरचित रामायणको श्लोक सुमधुर स्वरले प्रस्तुत गरेका थिए । अन्त्यमा, सभापतिले आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिषद्ले २०१० सालदेखि निरन्तर रुपमा भानु जयन्ती मनाउँदै आएकोमा हाल विभिन्न संघ संस्थाले पनि भानु जयन्ती मनाउन थालेकोमा खुशी प्रकट गरे ।
उनले भानु जयन्ती मनाउने परम्पराको शुरुवात गरेको परिषद्ले २०१६ सालमा भानुभक्तको पहिलो प्रतिमा स्थापना गरेको उल्लेख गर्दै २०५१ सालदेखि नियमित रुपमा नेपाली साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई आदिकवि भानुभक्त पुरस्कार अर्पण गर्ने गरेको वताए ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०