काठमाडौँ । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ‘ए’ लाई नेपाल १ सय ८० रनको लक्ष्य दिएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।
नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जि.सीसँग मिलेर ७० बलमा ५८ रन बनाए ।
प्रतिशले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । १५ दशमलव ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशत साझेदारीबाट टोली लज्जास्पद सम्मानजनक योगफलसम्म पुग्यो ।
१० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन बनाए । गुलसन झाले १९ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए । ओपनर आसिफ शेख १२ रन बनाए ।
पाकिस्तान ए का लागि शाहनवाज दाहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।
यस प्रतियोगितामा ६ टोली सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।
सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०