सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैँ हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ ।
रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा सोमबार साँझ यातना दिएको भिडियो सार्वजनिक भएको हो । रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको थियो ।
महोत्तरीको जलेश्वर नगरपालिका-८ फुलहट्टाका रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको हो । हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ । मदिरा सेवन गरेको भने पनि रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन् ।
प्रहरी निरीक्षक राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हवल्दारसँग गुनासो पोखेका थिए । हवल्दारको सल्लाह अनुसार पीडित रायले प्रहरी निरीक्षक राईसँग गुनासो गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी रविन्द्रराज पाण्डेले भने प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरेका छन् । ‘प्रहरी जवान रायले २५ गते सोमबार साँझ ड्युटीमा रहेका जवानलाई गाली गलौज गर्दै हतियार खोस्ने प्रयास गरेर भागे,’ डीएसपी पाण्डेले भने, ‘त्यही क्रममा सिरहा बजारबाट नियन्त्रणमा लिई हतकडी लगाएर कार्यालयमा राखिएको मात्रै हो । यातना दिएको होइन ।’ घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले छानबिन गरिरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८०