काठमाडौँ । आज गुरु पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी आज गुरु पूर्णिमा मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अँध्यारोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ ।
जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा। आफू आचरणमा बसेर अरूलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ। व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ ।
सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ। गुरुलाई माता र पितापछिको स्थान दिइएको छ ।
ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ। गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको बताइन्छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८०