काठमाडौँ । यो साता शेयर बजारमा उत्साह देखिएको छ । साताको चार दिनको कारोबारमा २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । यद्यपि दैनिक औसत ५ अर्बभन्दा बढीको कारोबार भएको छ ।
अन्य दिनमा पाँच कारोबार दिन भए पनि यो साता बिहीबार सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमा सीमित भयो । साताको पहिलो कारोबार (असार १०) साताकै उच्च कारोबारको रूपमा दर्ज भयो । यस दिन ६ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
६२.२१ अङ्कले बढेको बजार २११७.७३ विन्दुमा अडियो । अन्य दिनमा भने ५ अर्बभन्दा बढीको कारोबार भयो । यही साता बजारले २२ सयको विन्दूसमेत पार गरेको थियो । बुधबार कारोबार सुरु भएलगत्तै २२०० को बिन्दु पार गरेर बजार २१०० मा फर्किएको थियो ।
बुधबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आए पनि यस दिन साताकै दोस्रो बढी कारोबार भएको हो । केही दिनयता शेयर बजारले सकारात्मक प्रतिक्रिया दिइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०