काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दै छ ।
भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा अपराह्न ३:४५ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लगातार दुई खेलमा हार भोग्दै समूह चरणबाट बाहिरिसकेको नेपाल र पाकिस्तान दुवैका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले हार्दै नेपाल समूह चरणबाट बाहिरिएको हो। पाकिस्तान भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० ले हारेको थियो।
अघिल्लो सिजन साफको फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो। नेपाल रहेको समूह ए बाट भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन्।
आजै हुने अर्को खेलमा समूह विजेताका लागि भारत र कुवेत भिड्नेछन्। साफमा यसपटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन्। आफ्नो स्तरवृद्धिका लागि साफले दक्षिण एसिया बाहिरका दुई टोलीलाई आमन्त्रण गरेको हो।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०