काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्दैछ ।
जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर नेपालले पहिले बलिङको निर्णय लिएको हो । नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दैछ ।
तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो ।
नेपालले कुनै पनि विश्व विजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ ।
पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरी सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात् असार ९ मा खेल्नेछ ।
नेपालको प्लेई-११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०