काठमाडौँ । काठमाडौँको कालोपुलमा रहेको वाहा मेनपावरमा बैदेशिक रोजगार विभागले बुधबार आकस्मिक छापा मारेको छ । निशुल्क रोजगारीको प्रलोभन देखाई सार्वजनिक सूचना प्रकाशन गर्ने तर त्यही सूचना हेरेर अन्तर्वार्ता दिन आएका सयौं व्यक्तिहरुसंग मोटो रकम असुलेको उजुरी बैदेशिक रोजगार विभागमा परेपछि विभागले वाहा मेनपावरमा बुधबार आकस्मिक छापा हानेको हो । वाहा मेनपावर कम्पनीले कतारमा निशुल्क रोजगारीको अवसर भन्दै गएको साता कालोपुलस्थित आफ्नो कार्यालय परिसरमा सयौं युवा-युवतिको अन्तर्वार्ता गरेको थियो । २ सय २० जनाको माग भन्दै हजार बढी युवा-युवतिको भिड जम्मा गरेको मेनपावरले प्रत्येक एक जनासंग कम्तिमा १ लाख ८० हजार देखि बढिमा २ लाख ५० हजार सम्म असुली गरेको पाइएको छ ।

निशुल्कको नाममा सार्वजनिक सूचना प्रकाशन गरेर मोटो रकम असुल्ने प्रपन्च रचेपछी अन्तर्वार्ता दिन पुगेका युवा-युवतिहरु ठगिएको महशुस गरेका थिए । अन्तर्वार्ता दिएका मध्ये आजको न्युजको सम्पर्कमा आएका १० जना भन्दा बढि युवा-युवतिले आफुहरु निशुल्कको नाममा अन्तर्वार्ता दिन गएको भएपनि मोटो रकम माग्न थालिएको बताएका थिए । आफुहरु ठगिएको महशुस गरेपछि अन्तर्वार्ता दिएका मध्ये कैयन युवा-युवतीहरुले विभागमा लिखित उजुरी पनि दिएका छन् । सर्बसाधारण युवा-युवति ठगिएको लिखित उजुरीनै परेपछि विभागले एकातिर वाहा मेन पावर सप्लाएर्सलाई लिखित स्पष्टिकरण सोधेको छ भने अर्कोतिर बुधबारै आकस्मिक छापा हानेको छ ।

विभागको अनुगमन तथा अभिमुखिकरण शाखाका अधिकृत धर्मराज लम्साल नेतृत्वको टोलीले कालोपुलस्थित वाहा मेनपावरको कार्यालयमा छापा हानेको हो । आकस्मिक छापाका क्रममा टोलीले मेनपावर कम्पनीका सबै कोठा-कोठा पुगि काजगपत्र तथा दराजहरु चेकजाँच गरेको थियो । सम्पूर्ण विवरण दिन आदेश दिएको टोलीले लेखा तथा सबै विभागमा समेत चेकजाच गरेको थियो । एउटा घरको दुइवटा फ्लाट भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको वाहा मेनपावरले सरकारी मापदण्ड पनि पुरा नगरेको भेटिएका छ । मेनपावर कम्पनीमा हुनुपर्ने जति सबै शाखाहरु पनि नभएको पाइएको थियो । मापदण्ड बमोजिम कार्यालय प्रांगणमा दुईवटा पब्लिक शौचालय पनि मेनपावर कम्पनीले व्यवस्था गरेको छैन । पुरुष शौचालय त्यहाँ व्यवस्था गरिएको भएपपनि महिला शौचालय चाहिं बाहिर व्यवस्था गरिएको थिएन । माथि परिवार बस्ने घरको दुईवटा फ्ल्याट प्रयोग गरिरहेको वाहा मेनपावर कम्पनीले आफुहरुले त्यस्तै अनुमति लिएको आजको न्युजलाई बताएको छ ।

विभागको टोलीले आकस्मिक छापा मारेपछि अत्तालिएका मेनपावरका कर्मचारीहरु आफुलाई खबर नगरिएको र पत्रकारलाई पनि साथमा लिएर आएको बारे प्रश्न गरिरहेका थिए । वाहाका कर्मचारीले उजुरीबारे आफुलाई लिखित जानकारी हुनुपर्ने भन्दै विभागका कर्मचारीलाई रयाक रयाक बनाएका थिए । विभागको टोलीले कारवाही प्रक्रिया अघि बढीसकेको बताउँदै बुधबार कार्यालय समय सुरु हुनेबितिकै सञ्चालक सम्पूर्ण विवरणसहित हाजिर हुन आदेश दिएको छ । वाहा मेनपावर सप्लायर्सका सञ्चालक उदय बस्नेतले बिहिवार सम्पूर्ण कागजात सहित विभागमा उपस्थित हुनेछु भन्ने व्यहोराको निवेदन हस्ताक्षर गरेर दिएपछि विभागको टोली फर्किएको थियो ।
सर्बसाधारण युवा-युवतिसँग निशुल्क कतार लैजाने भन्दै चर्को शुल्क असुलेको व्यापक गुनासो बिभागमा आएपछि विभागले आकस्मिक छापा मार्नुका साथै वाहामाथिको छानविन समेत सुरु गरेको छ । विभागका प्रबक्ता गुरुदत्त सुवेदीले वाहामाथि कारवाही प्रक्रिया अघि बढिसकेको आजको न्युजलाई बताएका छन् ।
नेपाली युवा-युवतिलाई बैदेशिक रोजगारीको नाममा ठगी गर्ने मात्रै होइन वाहा मेनपावर सप्लायर्सले नेपाली रुपैया दोश्रो मुलुक फ्लाई गरिरहेको गुनासो पनि आजको न्युजमा आएको छ । स्मरण रहोस यस्तै नामको मेनपावर कम्पनी भारतमा पनि रहेको छ । आजको न्युजले पाएको सूचना अनुसार नेपालस्थित यो मेनपावर भारतको वाहा मेनपावरको एजेण्टको रुपमा काम गरिरहेको छ । नेपाली युवा-युवती जम्मा गरेबापत निश्चित कमिशन आफुले लिँदै नेपालीहरुसँग उठाएको चर्को रकम सबै अबैधबाटोबाट वाहा मेनपावरले भारत फ्लाई गर्ने गरेको आशंका गरिएको छ । यसबारे आजको न्युजले आउने श्रृखलाहरुमा तथ्यसहित थप रिपोर्टिङ गर्नेछ ।




प्रकाशित मिति: बुधबार, असार ६, २०८०