काठमाडौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
यसमध्ये १० प्रतिशत ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता, सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ३६ हजार ९३८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढी अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०