काठमाडौँ । नेकपा (एमाले)ले आज सातै प्रदेश सांसदहरूसँग भर्चुअल बैठक गरेको छ । बैठकमा सबै प्रदेशका पार्टी संसदीय दलका नेताहरूले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटका विषयमा संक्षिप्त रिपोर्ट प्रस्तुत गरे ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेट र अन्य विषयमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाइएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
बजेट विनियोजन पैतृक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक रहेको ओलीको भनाइ छ ।
पार्टी प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्ति अनुसार अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिए ।
बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन ओलीले आग्रह गरे । पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न ओलीको निर्देशन थियो ।
“अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोसी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ भन्नुभयो,” विज्ञप्तिमा भनिएको छ । कोसीमा एमाले नेतृत्वको सरकार छ । जहाँ प्रदेश सभा छलेर अध्यादेशबाट बजेट ल्याइएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०