कुनैपनि देशलाई समाप्त गर्नुछ भने सबैभन्दा पहिले त्यो देशको शिक्षा प्रणालीलाई ध्वस्त बनाउनुपर्छ । कुनैपनि मुलुकलाई षड्यन्त्रपूर्वक समाप्त गर्नुपरे संसारका कुनैपनि देशहरूले सबैभन्दा पहिले त्यहाँको विद्यालय, कलेज र विश्वविद्यालयमा षड्यन्त्र गर्ने गर्छन । हामी कहाँ त्यस्तो कुनै शत्रु देश लाग्नै परेन, नेपालका राजनीतिक दलहरूले राज्यसत्ताको बागडोर समाले यता मुलुकको शिक्षा प्रणाली एकपछि अर्को गरि धराशायी भयो । शत्रु खोज्न हामी कतै जानुपरेन आफूले आदर्श मानेका राजनीतिक दलका नेताहरूले एकपछि अर्को गर्दै शिक्षा प्रणालीलाई मटियामेट बनाइ छाडे । सुरुमा लोकतन्त्र स्थापनार्थ दलहरूले शिक्षालयम राजनीति प्रवेश गराए । प्रजातन्त्र प्राप्ति पछि पनि उच्च शिक्षाका कुनैपनि संस्थाहरूलाई राजनीतिको अखडामा परिणत गरे ।
विद्यार्थी संगठनमार्फत विद्यार्थीलाई राजनीतिको झण्डा मुनि गोलबन्द गरे भने शिक्षक र कर्मचारीलाई समेत आफ्नो भ्रातृसंस्था मार्फत राजनीतिमा होमे । दस कक्षा माथिको अवस्था त्यस्तो भयो भने विद्यालय शिक्षालाई चाही आफै र आफ्ना सहयोगी आसेपासे मार्फत निजी व्यापारको थलोमा परिणत गरे । खासगरि विद्यालयबाट देश, देशको माटो, हाम्रो पहिचान र संस्कृतिलाई बुझाउने खालका सबै पाठ्यपुस्तकलाई एकपछि अर्को गर्दै निसानामा पारे । पश्चगमनकारी भन्दै संस्कृति शिक्षा बहिस्कार गरियो भने काम नलाग्ने भन्दै नैतिक शिक्षा जस्ता शिक्षाहरुलाई पनि समाप्त गरियो । अब फगत दस जोड दुई सम्मका निजी बिधालय विदेशमा म्यानपावर सप्लाइ गर्ने मेनपावर एजेन्सीको काम गरिरहेका छन भने त्यसमथीका कलेज क्याम्पसहरू गुण्डागर्दीको थलो । देश बिग्रनुका धेरै कारण मध्ये सबैभन्दा महत्वपूर्ण कारण यो हो ।
धेरै जसो नेपालीलाई ज्ञात भएको यो विषय कृषि वैज्ञानिक मदन राईलाई पनि ज्ञात नहुने बिषयनै भएन । राज्यस्तरबाट भत्किएको शिक्षा प्रणालीलाई सुधार गर्ने कुनै प्रयास नभएपछि मदन राई त्यो सुर्धान आफै अघि सरे । जीवनमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका थुर्पै सरकारी र गैरसरकारी संस्थाहरूमा काम गरेर आफ्नो लागि प्रशस्त गरिसकेका कृषि विज्ञ राईले बाकि जीवन देशको शिक्षा प्रणाली सुधारका लागि आफ्नै जन्मथलोमा देशकै लागि नमुना प्रस्तुत गर्ने जमर्को गरे । त्यहीबाट सुरु भयो उनको अगुवाइमा सुभद्रा मदन फाउण्डेसन । जसले बन्द प्राय अवस्थामा रहेको जनजागृति मावि सोल्मा खोटाङलाई फाउण्डेसन मार्फत उद्धार गरे र नयाँ जीवन दिए । र देशको शिक्षा प्रणाली किन बिग्रियो र यसलाई सुधार गर्ने यसरी भनेर समाधानको स्पष्ट नमुना देशका सामु राखिदिए ।
आफ्नो मातृभूमि र माटोका लागि मनैदेखि कर्म गर्ने मदन राई आफ्नो शिक्षालयमा बसेका विद्यार्थीलाई पनि आफ्नो जस्तै देशप्रति समर्पित जनशक्तिको रुपमा विकास गर्न चाहन्छन् । त्यसले उनले सबै विषयलाई फिल्डमै सिक्ने र सिकाउने काम गराए । र उनको त्यो नमुना कामको सराहना देशले मात्रै होइन संसारका धेरै देशले गरे । देशलाई भत्किएको शिक्षा प्रणाली सुधारको नमुना प्रस्तुत गर्ने तिनै मदन राई यतिबेला प्रहरी कस्टडीमा छन् ।
उनलाई आफ्नै शिक्षालयबाट पासआउट भएका विद्यार्थीले दुर्व्यवहारको आरोप लगाएका छन् । खासमा मदन राई को हुन र उनले सञ्चालन गरिरहेको शुभम् फाउण्डेसन के हो भनेर हामीले उनलाई र फाउण्डेसनलाई नजिकबाट चिन्ने स्थानीय अगुवा, जनप्रतिनिधि र बिभिन्न सरोकारवालाहरूसँग कुराकानी गरेका छौ । आजको यो शृङ्खलामा उनको फाउण्डेसन चलिरहेको दिक्तेल नगरपालिका वाड नम्बर २ सोल्माका वर्तमान र पूर्व वाड अध्यक्षको भनाई समेटेका छौ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०