कृषिविज्ञ मदन राई यतिबेला यौन दुर्व्यवहारको आरोपमा खोटाङ प्रहरीको कस्टडीमा रहेका छन् । कृषि बैज्ञानिकका रुपमा राष्ट्रलाई निकै ठुलो योगदान पुर्याएका मात्रै होइन अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ भनेर नमुना विद्यालय पनि सञ्चालन गरिरहेका छन् । यस्तो विद्यालयले जसले कोरा किताबी ज्ञान मात्रै होइन जीवन र जगतबारे सिकाउने काम गर्छ । वास्तवमा त्यस्तो विद्यालय कम्तीमा यो देशमा चाहिँ छैन । सबै तिर निराशै निराशाले भरिएको यो देशमा मदन राईले चलाईरहेको शुभम् फाउण्डेसन पुग्दा चाहिँ निष्पठ अँध्यारोमा पर कतै चाँदीको घेरा देखिएझैँ हुन्छ । देशमा केही हुँदैन भनेर सम्पूर्ण युवा जमात जसरी र जुनसुकै हालतमा पनि विदेश पलायन हुन लर्को लागिरहेका बेला मदन राईलको विद्यालयले चाहिँ कर्म गर्नेहरूका लागि यो भन्दा अर्को भूगोल नभएको बताइरहेको छ ।
मदन राईमाथि लागेको आरोप विद्यमान नेपालको कानुनका नजरमा दुर्व्यवहार भित्र परेको होला । न्यायलयले त्यसको छिनोफानो पनि गर्नेछ । तर एउटा कुरा के चाहिँ सत्य हो यत्रतत्र भत्किएको यो देशलाई सही मार्गमा ल्याउनका लागि कोही न कोही पागल हुनैपर्छ । पागल यस मानेमा कि यो देशमा केही हुन्छ भन्ने विश्वास जगाउनका लागि गफले होइन कर्म गर्न तम्सिनै पर्छ । मदन राईले जसरी मानव जीवनको सुरुवात देखि मृत्यु सम्म आवश्यक हुने सबै कुरामा व्यवहारिक ज्ञान दिए जो यो समाजका लागि स्वीकार्य छ । अन्य ज्ञान जस्तै उनले बालबालिकाले यौन शिक्षाबारे पनि राम्रो जानकारी राख्नुपर्छ भन्ने अभियानचाहिँ समाजले पचाएन र कानुनको नजरमा दोषी देखियो ।
मदन राईले सञ्चालन गरेको अभियानको प्रत्यक्ष निरीक्षण गर्न यो देशका उच्च पदस्थहरू लर्को लागेरै उनको फाउण्डेसनमा पुगेका छन् । जे ज्ञान बालबालिकालाई उनले दिइरहेका थिए त्यसको चौतर्फी प्रशंसा भएको थियो । त्यहीकारण होला उनको फाउण्डेसनलाई स्थानीय देखि प्रदेश हुँदै संघीय सरकारले समेत पटक पटक सम्मान र पुरस्कार दिएका थिए ।
देशका सबै उच्च पदस्थले नेपालको विकास गर्ने हो भने मदन राईले चलाएको जस्तै विद्यालय देशभर चलाउनु पर्ने बताइरहेका थिए । तर यतिबेला राईलाई आरोप लाग्यो र उनको फाउण्डेसन माथि कालो बादल मडारिरहेको छ । मदन राई र फाउन्डेसनमाथि देखिएको अन्योलता बारे आजको यो शृङ्खलामा हामीले फाउण्डेसन रहेको खोटाङ दिक्तेलका स्थानीय नागरिक अगुवाहरूको धारणा प्रस्तुत गरेका छौ ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०