मदन राईले सुरु गरेको विद्यालयले शिक्षाको परिभाषालाई परिवर्तन गरिदिएको छ । सामान्यतया शिक्षा भन्ने बितीकै विद्यालयमा गएर पढ्ने पढाउने प्रक्रियालाई बुझने गरिन्छ । तर खोटाङको दिक्तेलमा रहेको मदन राईको स्कुलमा शिक्षा लिने दिने प्रक्रिया केही फरक छ । यहाँ शिक्षा दिने र लिनेहरू खेतमा, मिलमा, बंगुर फारममा, बाख्रा र भेडी गोठमा अनि क्याफे र होम स्टेमा देखिन्छन । यहाँ किताबलाई मात्रै महत्व दिइदैन । बालबालिकाहरूलाई दिनमा केही घण्टा कक्षा कोठामा राखेर पनि पढाउने गरिन्छ । तर मूलभूतरूपमा भने फिल्डमै सिक्ने र सिकाउने गरिन्छ । अन्य शिक्षालयमा विद्यार्थीले शिक्षा आर्जन गर्छन तर यहाँ शिक्षाासंगै जीवन पनि सिकिरहेका हुन्छन् । जीवन र जगतको बारेमा निरन्तर साक्षात्कार गराउने र कर्म गर्न सिकाउने यो स्कुल आफैमा देशको भविष्य निर्माणको कारखाना जस्तो लाग्छ ।
यही कारखानाबाट यसअघि हजारौं विद्यार्थीले आफ्नो जीवन बनाएर गएका छन् भने आज पनि सयौँ बिधार्थी जीवन बनाउने कम्मर कसेर लागिरहेका छन् । देशकै नमुनाको रुपमा रहेको यो विद्यालय समाप्त गर्ने खेल सूरु भएको छ । बाल अधिकार र मानवअधिकारको नाममा अनेकन प्रपञ्च रच्दै यो विद्यालयको भविष्य समाप्त गर्ने र उज्यालो भविष्यका लागि यहाँ रहेका कोपिलाहरु चुड्ने प्रयत्न गरिएको छ । बिधालयबाट शिक्षा आर्जन गरि भर्खरै पास आउट भएका पूर्व बिधार्थीले लगाएको आरोपमा स्कुलका संस्थापक मदन राई प्रहरीको कस्टडीमा परेपछि बिद्यालय समाप्त पार्ने षड्यन्त्र सुरु भएको हो । अधिकारको नाममा त्यो विद्यालयको बारेमा बुझ्दै नबुझेकाहरू हरेक दिनजसो बिद्यालयमा परिसरमा प्रवेश गर्दै बालबालिकालाई मानसिक टर्चर दिइरहेका छन् ।
मदन राईको विषयलाई एजेण्डा बनाउँदै विद्यालय बन्द गराउने खेल सुरु भएपछि स्थानीय सरोकारवाला, नागरिक समाज र स्थानीय जनप्रतिनिधिहरूले शसक्त प्रतिकार गरिरहेका छन् । विद्यालयमाथि कुनैपनि हालतमा कालो बादल मडारिन नदिने भन्दै स्थानीय दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई लागिपरेका छन् । स्थानीय न्यायिक समितिका प्रमुख समेत रहेका राईका अनुसार कुनैपनि बहानामा बिद्यालयमाथीको आक्रमण सह्य हुनेछैन । मदन राईको विषयले न्यायलयको विषय भएको र त्यसबारे आफूहरूले कुनै प्रतिक्रिया नदिने तर त्यही बहानामा बिद्यालयमाथी आक्रमण भए चुप लागेर नबस्ने उपमेयर राईले आजको न्युजलाई बताएका छन् । आफ्नो आगनमा रहेको देशकै नमुना यो फाउण्डेसनमा रहेका विद्यार्थीहरू खुसीसाथ आफ्नो भविष्य बनाइरहेकाले उनीहरूको भविष्य बचाउन आफूहरू जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उपमेयर राईले बताएका छन् । यो शृङ्खलामा उपमेयर राईका भनाई हामीले प्रस्तुत गरेका छौ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०