मदन राई मूलतः कृषि वैज्ञानिक हुन । उनले कृषि वैज्ञानिकका रुपमा राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय रुपमा पनि महत्वपूर्ण योगदान गरेका छन् । खासगरि हिमाल पारीको जिल्ला मुस्ताङमा स्याउ खेतीलाई व्यवसायिकरण गर्ने श्रेय उनै मदन राईलाई जान्छ । संसारको सबैभन्दा राम्रो स्याउ उत्पादन यही मुस्ताङमा हुन्छ भनी यिनै मदन राईले अभियान चलाए र मुस्ताङीलाई स्याउ खेती गर्न उत्साहित बनाउने काम पनि यिनैले गरे ।
उनले देशको भूगोलभित्र पुर्याएको यो योगदानको कदर मुस्ताङी जनता र सिंगो नेपाल देशले गर्यो नै त्यसभन्दा पर विदेशी नियोगहरूले पनि उनको कामको प्रशंसा गर्दै परामर्शदाताका रुपमा आकर्षक सेवा सुविधा सहित रोजगारको प्रस्ताव गर्यो । विदेशी संस्थाको आकर्षक सेवा सुविधा स्वीकार गर्दै तान्जानिया पुगेका मदन राईको मन त्यहाँ धेरै रमाउन सकेन । खासगरि मदन राई आफ्नै माटोमा कर्म गर्नुपर्छ भन्ने विश्वास राख्छन् । सायद आफ्नो त्यही विश्वासका कारण उनी आफ्नै मातृभूमिको ढुङ्गामाटोसँग पौँठेजोरी खेल्न आइपुगे । विदेशी संस्थाहरूबाट बिदा भएर नेपाल आएपछि मदन राईले गर्न त धेरै थोक गरे । उनले गरेका कर्महरू मध्ये कति मानिसहरूको मन मस्तिष्कमा रहे कति चाहिँ समयक्रमसँगै बिस्मृतिमा गए । तर उनले आफ्नो जन्मथलो खोटाङमा सुरु गरेको सुभद्रा मदन फाउण्डेसनको कर्म भने मानिसहरूको मानसपटलबाट कहिल्यै नमेटिने छाप बनेर रह्यो ।
मदन राईले सुरु गरेको यो फाउण्डेसन आजको दिनमा खोटाङमा मात्रै होइन सिंगो देश हुँदै संसार पुगिसकेको छ । सबै कामहरू समान भएको र काम गर्ने बानीको विकासले नै देशको विकास हुने विश्वास गरिरहेका मदन राईले स्कुले बच्चाहरूलाई पढ्दै सिक्दै योजना लागू गरे । केही समय उनको योजना कार्यन्वयन गर्न संघर्ष गर्नुपरे पनि आजको दिनमा यो कार्यक्रम देशकै नमुना कार्यक्रम बनेको छ । उनको फाउण्डेसनले स्थानीय जनजागृति मावि सँग मिलेर खोटाङ लगायत देशका बिभिन्न जिल्लाबाट गरिब जेहेन्ददार विद्यार्थीलाई जम्मा गरेर जीवन उपयोगी शिक्षा र सीप सिकाइरहेको छ। त्यस विद्यालयमा कृषि, पशुपालन, उधोग, सेवा लगायत थुप्रै कुरा बालबालिकालाई सिकाइन्छ । त्यस विद्यालयमा अध्ययन गर्ने बिधार्थी १६ वर्ष पुग्दा नपुग्दै शैक्षिक योग्यताका अलावा सिकर्मी, डकर्मी, गाडी चालक, कृषक र पशुपालनको पनि ज्ञान हासिल गरिसकेको हुन्छ ।
यी सबै कुरा यहाँ खाली किताबमा मात्रै सिकाउने होइन व्यवहारिक रूपमै सिकाउने गरिन्छ । कृषि गर्न आफ्नै जग्गा छ, फाउण्डेसन भित्र पशुपालन गरिएको छ, क्याफे, होटल र होम स्टे सञ्चालन गरिएको छ । चामल तथा तेल निकाल्ने मिल छ, गाडी मोटरसाइकल लगायत सवारी साधन मर्मत गर्न र बनाउन सिकाउने कारखाना छ कम्प्युटर देखि एआई सम्मका प्रयोगात्मक अभ्यास पनि यहाँ गराइन्छ । यसो भनौँ सुभद्रा मदन फाउण्डेसनले मानिस जन्मे देखि मरुन्जेल सम्मका लागि आवश्यक पर्ने सबै ज्ञान र सीप एकैठाँउमा सिकाउछ । आज सम्म यो फाउण्डेसनबाट हजारको हाराहारीमा विद्यार्थीहरूले ज्ञान आर्जन गरेर आफ्नो जीवनमा लागू गरिरहेका छन् । आफ्नो जीवनमा लागू मात्रै गरेको होइन बरु देशकै लागि कुनै न कुनै रुपमा योगदान गरिरहेका छन् । यसरी बालबालिकालाई माटोमै पसिना बगाउन सिकाउदै शसक्त देश निर्माण गर्न सकिन्छ भन्ने अभियान चलाइरहेका तिनै मदन राई केही समय यता भने आफ्नै फाउण्डेसनका विद्यार्थीहरूको उजुरीका आधारमा हिरासतमा दिन काटी रहेका छन् । उनलाई यौन दुर्व्यवहारको आरोप लागिरहेको छ । कृषि वैज्ञानिक हुँदै व्यवहारवादी स्कुल सञ्चालन गरिरहेका मदन राई पछिल्ला केही बर्स यता यौन शिक्षाबारे पनि खुलेर शिक्षा दिनुपर्ने बताउँदै आइरहेका थिए । यौनको विषयलाई अदृष्य बनाइएका कारण देशभित्र बालिकाहरू यौन हिंसाको सिकार भइरहेको भन्दै उनले यसबारे सबैले जान्नुपर्ने बताइरहेका थिए । यद्धवी उनले यौनबारे मात्रै होइन मानव जीवनका लागि आवश्यक पर्ने सबैजसो विषयमा व्यवहारिक ज्ञान सिकाइरहेका थिए ।
यतिबेला मदन राईमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनको नेतृत्वमा सञ्चालन भइरहेको सुभद्रा मदन फाउण्डेसनमा अन्योलता छाएको छ । खासगरि आफ्नो भविष्य उजिल्याउन बिभिन्न जिल्लाबाट फाउण्डेसनमा रहेका बालबालिकाहरू आफ्नो भविष्यलाई लिएर चिन्तित रहेका छन् । सरकारले पटक पटक पुरस्कृत गरेको र राज्यलेनै नमुना संस्था भनी प्रशंसा गरेको फाउण्डेसनको भविष्य अन्यौलग्रस्त भइरहेको परिप्रेक्ष्यमा हामीले त्यो फाउण्डेसन र त्यसका सरोकारवालाहरूको धारणा बुझ्ने प्रयास गरेका छौ । हामीले कुराकानी गरेका अधिकांशले दुर्व्यवहारको विषय कानुनले छिनोफानो गर्ने भएपनि फाउन्डेसनमाथि कुनै प्रश्न उठाउन नमिल्ने बताइरहेका छन् । हजारौं विद्यार्थीले आफ्नो भविष्य यहीबाट निर्माण गरेको र बाकि सयौँ भविष्य बनाउन यहाँ बसिरहेको परिप्रेक्ष्यमा फाउण्डेसनमा कुनै अन्योलता आउन नहुने उनीहरूको धारणा छ । आरोप लागेजस्तै मदन राईले दुर्व्यवहार गरेको प्रमाणित भए कानुन बमोजिम हुने बताउँदै व्यक्तिको विषयलाई लिएर सिंगो फाउण्डेसनको भविष्य अन्यौलग्रस्त बनाउन नमिल्ने अधिकांश सरोकारवालाहरूले आजको न्युजलाई बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०