दोलखा - आफ्ना मामा जितबहादुर कार्कीको निधनले शोकमा रहेका परिवारजनलाई समवेदना प्रकट गर्न आकस्मिक रूपमा दोलखा जिल्ला तामाकोसी गाउँ पालिका वडा नम्बर तीन जफे आएका हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले दुई दिन स्वास्थ्य शिविर चलाएर शोकलाई समाजसेवामा रूपान्तरण गरी आफ्नो सेवाभाव प्रकट गरेका छ्न् ।
आफ्ना मामाको मृत्युु वियोगमा रचनात्मक कार्यमा संलग्न भएका छन् । बुबाको मृत्युमा काजकिरियामा बसेका जफे वडानं दुईका सदस्य प्रचण्डदीप कार्कीले संयोजन गरेको शिविरमा यसको व्यवस्थापन तामाकोसी गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले गरेका थिए । आवश्यक औसधि र उपकरण अनि सहयोगी स्वास्थजनशक्ति मिश्रले जुटाइदिएका थिए बाँकी औसधि डाक्टर केसीले आफैले पनि ल्याएका थिए ।

जेठ ८ र ९ गते जफेको जामुनेमा २१० विरामीले डाक्टर केसीद्वारा विशेषज्ञ सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारी दिएका छन् । शोकमा रहेका केसीले जुठो बारेको कारण एक कप दूध र एउटा स्याउको भरमा मात्रै बिहान ८ बजेदेखि बेलुकी साँझ ६ बजेसम्म सेवा दिनु भयो अरू केही खान मान्नु भएन जफे स्वास्थ्य केन्द्रकी कर्मचारी कविता रानाले गुनासो गरिँन ।
केहीको माइनर अप्रेसन, दुई दर्जनको घुँडाको पानी निकाल्ने कार्य र केहीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारको लागि रिफर गरिएको कुरा स्वास्थ्य केन्द्रकी स्वास्थकर्मी सुनिता जिरेलले हामीसँगको भेट्मा जानकारी दिइन् । तामाकोसी गाउँ पालिका मालु अस्पतालका डाक्टर मनिस तिमल्सिना र अन्य स्वास्थ्यकर्मीले डाक्टर केसीलाई सघाएका थिए ।
स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले आकस्मिक कार्यक्रमलाई कुशल व्यवस्थापन गरिदिएकोमा केसीले प्रसन्नता व्यक्त गर्दै उनको प्रसंशा गरे । आगामी दिनमा योजनाबद्द शिविर गर्न मिश्रले प्रस्ताव गरेकोमा : केसीले आफ्नो जिम्मेवारी बृहत र अन्य दुर्गम ठाँउको लागि पनि भएकोले अहिले संभव नभए पनि आगामी दिनमा उपर्युक्त समयमा म खुशी साथ सेवामा सहभागी हुन्छु । म मानवीय स्वास्थ्य सेवाको लागि जहाँ र जतापनि कर्तव्य गर्छु । यहाँ पनि मेरा विशेष कर्तव्य छन् जुन धुलो माटाेमा म खेले, हुर्के, बढे र स्कुल तहको शिक्षा पढे । यहाँको लेक बेसी धाए । मेरा स्कुल तहका कयौं सहपाठी यहाँ छन् । लामो समय पछि भेट भयो अतित स्मरण गरियो । म विगतका स्मृतिले नोस्टालजिक पनि बनें । यो हावा यो माटाे र यो भूगोलप्रति मेरा विशेष कर्तव्य छन् । त्यो म पुरा गर्नेछु भन्ने वचन वद्द्ता व्यक्त गरे ।

हाडजोर्नी र नसा सम्बन्धी विरामीलाई आवश्यक परामर्श, फिजियो थेरापीको सिकाइ र उपलब्ध औषधि वितरण गरेका केसीले अधिकांश विरामीमा घुँडा खिइने रोग रहेको जानकारी दिए । अप्रत्याशित आगमनमा पनि आफूलाई सहयोग गरेकोमा स्वास्थ्य सेवामा समर्पित सबैकाप्रति डाक्टर केसीले कृतज्ञता ज्ञापन गरे ।
स्वास्थ्य शिविरको अलवा आफू बसेको निवास जफे धन्सारमा पनि केसीले साँझ विहान स्वास्थ्य परामर्श उपचार गरी मावली गाउँलाई धन्य बनाएकोमा सहपाठी यमबाहादुर खडका र मावली वेद बहादुर बस्नेत गौरवान्वित भएको विरामीमाझ बताइ रहेका भेटिन्थे । सर्वसाधारण विरामी पनि टिभीमा देखेको र नाम सुनेको ठूलो डाक्टर आफ्नै उपचारको लागि आफ्नै ठाँउमा पाउँदा खुशी देखिन्थे ।
थुप्रै विरामीको स्वर्गीय जीतबहादुर कार्कीप्रति पनि सम्मान र आदर थियो, कार्की बिते पनि उनको स्मरणमा उनका भान्जा डाक्टर गोविन्द केसीले हाम्रो उपचार गरे । आवश्यक सल्लाह दिए । असल र सामाजिक भाव भएका मान्छेहरू मरेर पनि गुण लगाउँछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०