काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । आजको बैठकमा प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।
प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकको निर्णयअनुसार आज पनि प्रि-बजेटका बारेमा छलफल हुन लागेको हो ।
वैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिएका थिए ।
प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको खतिवडाले बताए ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि-बजेटका बारेमा छलफल सुरु गरेका छन् ।
गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।
शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०