काठमाडौँ -काठमाडौँको तत्कालीन इन्द्रायणी गाउँ पंचायतको सात घट्टेमा वि.स.२०३५ मा स्व. कृष्णप्रसाद अर्यालले दान गर्नु भएको जग्गामा स्थापित सिद्दिगणेश मावि कागेश्वरी मनहरा नगरपालिका वडा नं १ गागलफेदीमा अवस्थित छ l प्रावि,निमावि र मावि हुँदै २०५४ मा पहिलोपटक एसएलसीमा सामेल भएको विद्यालय,२०६५ मा ११ र २०६६ मा १२ कक्षाको स्वीकृति पाए देखि १२ कक्षासम्म पठन पाठन गरिरहेको छ l सामुदायिक विद्यालय तर्फ २०७८ मा एसईई तर्फ उत्कृष्टमा पर्न सफल र निरन्तर राम्रो एसईई नतिजाको कारण चर्चा र अभिभावक विद्यार्थीको आकर्षण बढ्दो छ l विगतको नतिजा जे जस्तो रहे पनि सरकारी स्कुलमा बढ्दो राजनीतिकरण र दलीय हस्तक्षेपले ध्वस्त देशभरको सार्वजनिक स्कुलबाट सिद्दि गणेश पनि अछुतो रहेको थिएन l राजनीतिको लुछाचुंडी तानातानबाट यहाँ पनि केही गडबडी भएका थिए l जताततै सामुदायिक स्कुलको बेहालको स्थिति बारम्बार पढन पाइन्छ l स्कुल बन्द गरेर पनि राजनीतिक पार्टीको कार्यक्रममा शिक्षक विद्यार्थी जाने गरेको दृष्टान्त धेरै छन् l तराईका कतिपय जिल्लामा स्कुल सरहरूको झोलामा समेत हुन्छ l विद्यार्थीभन्दा शिक्षक दरबन्दी धेरै भएका थुप्रै स्कुलहरू छन् l सामुदयिक विद्यालयको शैक्षिक स्तर निरन्तर ह्रासोन्मुख छ l जब यस स्कुलले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा युवा राजकुमार थापालाई चयन गर्यो तव स्कुल आजको हैसियतमा आइपुगेको देखिन्छ l २०६६ कार्तिक २१ गते आफ्नो जन्म दिनको दिन अध्यक्षको कार्यभार सम्हालेका राजकुमार थापाको नेतृत्वमा आज प्रसिद्दिको शिखरमा छ l
काठमाडौँको सामुदायिक स्कुलको नाम लिने बित्तिकै आम मान्छेलाई स्मरण हुने नाम राजकुमार थापा हो l यही स्कुलका पूर्व विद्यार्थी र कार्यालय सहयोगी समेत रहेका थापा अहिले स्कुलको म्यानेजर अर्थात् व्यवस्थापन समितिको अध्यक्ष छन् l नेपालको सामुदायिक विद्यालयको हालत निरन्तर खस्कँदो अवस्था देशभर रहेको छ,तर थापाको नेतृत्वले सिद्दिगणेश स्कुलले सफलता प्राप्त गरिरहेको छ l
राजकुमार नेतृत्वमा आउनुअघि विद्यार्थी सङ्ख्या मुश्किलले कागजी तथ्यांकमा १३० को हाराहारी थिए भने आजभोलि ६०० भन्दा माथि टाउको गनेर विद्यार्थी देख्न पाइन्छ l विद्यालय भित्रको प्रमुख सरकार अध्यक्ष हुन् भने प्रशासनिक र एकेडेमिक प्रमुख प्रधानाध्यापक यी दुईको कुशल समन्वयमा विद्यालय संचालन हुन्छ l
अनेक कठिनाइ, सामाजिक असमझदारी, विमतिका बाबजुद विद्यालयको यो स्तरको सफलता आफ्नो मात्र नभएर विगतको कतिपय सकारात्मक निरन्तरता,प्रधानाध्यापक, शिक्षक,कर्मचारी अभिभावक,विद्यार्थी लगायत सबैको भएको राजकुमारको निस्कर्ष छ l
शैक्षिक सत्रको सुरूमा अन्य सामुदायिक र निजी स्कुलको हरेक घर घर जाने विद्यार्थी खोज्ने र आकर्षक विज्ञापन गर्ने होड चलेको हुन्छ l सुरुका केही वर्ष अध्यक्ष थापाले पनि यही अभियान मार्फत विद्यार्थी सङ्कलन गरे तर सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण थिएन त्यसैले उनले स्कुलमा संलग्न हरेक शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका व्यक्तिले आफ्नो वच्चा सोही स्कुलमा अनिवार्य पढाउनुपर्ने नीति बनाए र त्यसलाई कार्यन्वयन गर्न कठोरतापूर्वक लागि परे l ‘हाम्रो सामुदायिक विद्यालयमा पढाउने र व्यवस्थापन जिम्मा लिनेका छोराछोरी निजी स्कुलमा राख्ने प्रवृति रहेसम्म सामुदायिक विद्यालय गए गुज्रेको हालतमा रहन्छ l अध्यक्ष थापाले अवलम्बन गरेको नीति सम्बन्धित विद्यालयका शिक्षक कर्मचारी र व्यवस्थापन समितिका मान्छेका छोराछोरी आफू सम्बद्द स्कुलमा अनिवार्य पढाउनुपर्ने नीतिलाई अक्षरस पालन गरे सामुदायिक शिक्षा सुधारको महाअभियान यही हुनेछ l देशभर यही नीतिको अनुशरणको खाँचो छ l यही नीतिको कारण शिक्षकलाई निस्कासन गर्नु पर्ने समेत भयो र निष्कासन पनि गरे र मुद्दा समेत खेपे l अध्यक्ष थापा भन्छन् यो हदको कठोर निर्णयको परिणाम आज स्कुल विद्यार्थीले भरिभराउ छ l शैक्षिक गुणस्तर राम्रो छ l शिक्षक कर्मचारी अनुशासित र कर्तव्यनिष्ठ छन् l स्कुलमा विद्यार्थी भर्ना बढाउन अध्यक्ष थापाले आफ्नो घरमा डेरा बस्न आउनेका बच्चा भए सिद्दि गणेश पढाउने सर्तमा मात्र डेरा दिने नत्र नदिने समेत गरे l उनको यो पागलपनमा स्कुलको उज्जल भविष्यको सपना प्रतिविम्बित छ l
हामी गफिएकै ठाउँमा एक जना महिला आएर भनिन् ‘मेरो नानी बोर्डिंगबाट निकालेर अब आउँदो शैक्षिकसत्र देखि यहाँ भर्ना गर्नु पर्यो के गर्नुपर्छ अध्यक्ष ज्यू ?अध्यक्ष थापाले भने : नानीलाई यहाँ प्रवेश परीक्षा दिन लगाएर उतिर्ण भए मात्र पढ्न मिल्छ l यसरी सामुदायिक स्कुलमा प्रवेश परीक्षा लिएर पास भए पछि मात्र भर्ना गर्ने स्कुल सिमित छन् त्यसमा सिद्दि गणेश मा.वि. समेत पर्न आउँछ l विद्यार्थीको आकर्षण अहिले बेस्सरी छ स्कुलको क्षमता आएजति विधार्थी पढाउन सक्ने छैन तसर्थ प्रवेश परीक्षा पास गर्नेले मात्र हाम्रोमा भर्ना पाउँछन् l यसो भन्दा लाग्छ उनी कुनै नामुद स्कुल र अनुसन्धान तहको विद्यार्थी भर्नाको प्रोसेस भनिरहेका छन् l तर उनको स्कुलमा कक्षा एकदेखि नै १२ सम्म पढन पनि प्रवेश परीक्षा पास गर्नु पर्ने नियम राखिएको छ l राजकुमार थापा भन्छन् मैले कानुनले दिएको भत्ता पनि नलिई आफूले सकेको गरेको छु l मैले विद्यालय बनाउने र सुधार्ने क्रममा मलाई जसरी चिनाइयो र चिनियो त्यसले मलाई अझ राम्रो कार्य गर्न उत्प्रेरित गर्यो l आफ्नो फरक पहिचान दियो l
को हुन् राजकुमार थापा ?
वि.सं.२०३९ कार्तिक २१ गते गागल फेदीमा जन्मेका थापा साधारण परिवारका मान्छे हुन् l काठमाडौँको कर्णाली जस्तो लाग्ने तत्कालीन इन्द्रायणी गाउँ पंचायतको गागल फेदीमा थापाका सातौ पुस्ता गोरखाबाट आएका हुन् l बुबा खेतीपातीका साथसाथै सिद्दीगणेश स्कुलमा परिचरको काम समेत गर्नु हुन्थ्यो l बुबा हरिबहादुर थापाको देहान्तपछि (२०५५ ) घरको आर्थिक अवस्था कमजोर भएको कारण पढदै गरेका राजकुमारलाई पैसा कमाउने जरूरत पर्यो l बाबुको स्थानमा काम गर्न पाइयो l तर पढाइ छोड्नु पर्ने सर्तमा मात्रै जागिर मिल्ने कुरा तत्कालीन हेड सरले गर्नु भएको कारण थापाले आफ्नो विवशतामा कलिलै उमेरमा पढाई छोडेर स्कुलमा परिचरको काम गरे l (असमयमा बाबु गुमाएर टुहुरो बनेको आफ्नो विद्यार्थीलाई हेड सरले जागिर दिनु भयो तर आफू चुक्नु भयो थापालाई पढाई छोडेर जागिर भन्दा पढाई नछोडाएर आए आर्जनको लागि कुनै वैकल्पिक व्यवस्था गरिदिनु भएको भए उहाँको शिक्षा र महानता र प्रधानाध्यापकको गरिमा कति उँचो हुन्थ्यो होला ?) उनको त्यो विवशता साथीभाइको गिल्लाको विषय बन्यो भने उनलाई पनि हीनताबोध भयो l अल्लारे उमेरमा बाबु गुमाएका थापा पारिवारिक दुरावस्थाले स्कुल छोडेर परिचर बनेका थिए तर उनको ध्यान काममा भन्दा पढाइमा र राजनीतिमा थियो त्यसैले उनले भनेजस्तो काम गर्न सकेनन् l त्यतिबेलाका हेड सर र व्यवस्थापन समितिका अध्यक्षको सल्लाहमा उनकी आमा पम्फा थापालाई उनको स्थानमा राख्ने कुरा भयो l थापाले तीन महिना मात्र काम गरे l अझ स्मरणीय कुरा पम्फा थापालाई उमेर हदको कारण अवकास दिएपछि सो स्थानमा उहाँकै बुहारी रूपा थापालाई नियुक्त गरियो जो अहिले सोही स्कुलमा अंगेजी विषय शिक्षक हुनुहुन्छ l परिचरको कामबाट बिदा भएपछि उनी फुक्काफाल भए पढ्न पनि गएनन् l तर तत्कालीन माओवादी जनयुद्दको प्रभाव परेको र सुनेको भरमा उनमा राजनीतिक चेतना पलाई सकेको थियो माओवादीले समाजमा अन्याय अत्याचार हुन् दिंदैन जाँड रक्सी खाने र जुवातास खेल्दै बरालिएर हिंडनेलाई कारबाही गर्छ भन्ने सुनेका थिए l त्यही लहडमा राजकुमारले पनि सादा फुलिस्केपमा माओवादी सम्बद्द नारा, जाँड रक्सी खानेलाई र जुवातास खेल्नेलाई कारबाहीको पर्चा बनाएर गागलफेदीको ठाउँ ठाउँमा टाँसीदिए l आफ्नो उब्जनी हुने खेत बिरामी हुँदा ऋण लिंदा अन्यायपूर्ण चक्रवती व्याज सिर्जना गरेर हड्पेको पीडा र दुख थियो l न्यायको आशाले पनि राजकुमार माओवादीसँग आकर्षित भैसकेका थिए l उनले आफसे-आफ छापेको पर्चा बारे सोधखोज गर्दै माओवादीको सम्पर्क सुत्र पनि उनलाई भेट्न आइपुग्यो र अखिल क्रान्तिकारीको सिद्दि गणेश इकाई कमिटिको सभापति राजकुमार बनाइए l यो घटना राजकुमारको बुबा बित्नु अघिकै हो l राजनीतिमा आबद्द भएर माओवादीको इलाका स्तरीय प्रतिनिधि र दलीय प्रतिनिधिको रूपमा तत्कालीन दलीय संयन्त्रमा रहेर काम गरे l आफ्नो आय आर्जनको लागि भने आलु,प्याज,लसुनको बिक्री वितरण, तरकारीको ठेक्का आदि काम गर्दै थापाले आफूलाई समाजमा सक्रिय राखे l त्यतिबेलै उनका हेड सरले कक्षा १० मा भर्ना गरिदिएर टेस्ट परीक्षाको लागि वातवरण पनि निर्माण गरे तर टेस्ट पास गरेपछि एसएलसी दिन भने दिएनन् l तँ पास गर्न सक्तैनस स्कुलको रिजल्टमा असर गर्छ भनेर एस.एल.सी दिन वन्चित गरे l ‘टेस्ट दिन र पास गर्न मिल्ने मैले एसएलसी दिन किन नमिलेको हो मैले आजसम्म बुझ्न सकेको छैन थापा आफूलाई दुखेको विषय सुनाउँछन् l’ यसै बिच २०६४ मा सिद्दिगणेश स्कुलको व्यवस्थापन समितिको सदस्यमा उनी पनि मनोनयनमा परे l
शिक्षक सरोज धिताल भन्छन् : व्यवस्थापन समितिका अध्यक्षको शिक्षक र कर्मचारीप्रति प्रशासकीय निगरानी चर्को छ तर त्यो कठोर निगरानी उहाँको निजी फाइदाको लागि नभएर स्कुलको भविष्यको लागि हो l बालबालिकाको शिक्षाको खातिर हो l जति प्रशासनिक रूपमा अध्यक्षज्यू खरो हनुहुन्छ त्यति नै शिक्षक कर्मचारीको सेवा,सुविधा र व्यवहारिक दुखमा उहाँको नजर दयालु र अभिभावकको जस्तो छ l उहाँमा व्यक्तिको क्षमता अनुसार ट्रिट गर्ने ल्याकत छ l अध्यक्ष आफ्नो प्रचार प्रसार गर्न रूचाउनु हुन्न l कतिपय अभिभावक र विद्यार्थीबाट थाहा हुन्छ उहाँ असहज अवस्थामा रहेका विद्यार्थीलाई आर्थिक सहयोगदेखि लिएर ड्रेस,किताब, कापी किनिदिने,पिकनिकमा जान आर्थिक अवस्था कमजोर हुने विद्यार्थीको लागि पनि आफ्नै खल्तीबाट सहयोग गर्नु हुन्छ l समाजमा दुख पर्दा दौडेर उहाँ कहाँ सहयोग माग्न जाने मान्छे धेरै छन् l उच्च शिक्षाको लागि जाने गरिब तथा जेहेन्दार विद्यार्थीको लागि सहयोग गरिदिने, भनसुनको लागि दौड धूप गरिदिने र स्कुलमा पनि जायज कुराको लागि नियम बाधक छैन भन्ने मान्यता राख्नु हुन्छ l अध्यक्षकी आमाको अन्त्यष्टिमा सहभागी हुन पशुपति आर्यघाट पुगेका शिक्षकलाई कोविडले विद्यार्थीलाई असर पर्ला स्कुल कसरी चलाई रहनु भएको छ ? स्कुल बन्द गर्नु पर्ने भए बरू गर्नुस् आफूहरू पनि जोगिनुस र वच्चाहरूलाई पनि जोगाउनुस भनेर आफ्नो आमा गुमाएर शोकाकुल स्थितिमा पनि स्कुलप्रतिको चिन्ता गर्ने अध्यक्ष साँचिकै हृदय भएका मान्छे हुन् l मनमा पाप नभएका तर नियम र अनुशासन अनि कर्तव्य पालनामा कठोर लाग्ने अध्यक्षसँग काम गर्न पाउँदा धेरै सिक्न पाएको अनुभव सरोजको रहेको छ l
‘व्यवस्थापन समितिका अध्यक्षमा आर्थिक,राजनीतिक प्रलोभन नरहेको विशुद्द सामाजिक भाव रहेको र अब कागेश्वरी मनहरा नगरपालिका कै सामुदायिक विद्यालयको स्तर उन्नति गरी शिक्षालाई पूर्णतया राज्यको दायित्वमा ल्याउन आफ्नो नगरपालिकाबाट सुरू गर्नु पर्ने ध्याउन्नमा रहेको’ कुरा अर्का शिक्षक रोशन अधिकारीको बुझाइ छ l
स्थानीय अभिभावक भन्छन् : ‘सुरुसुरुमा यस्तो अल्लारे केटो, माओवादीमा लागेको मान्छेले के गर्ला र जस्तो लागेको थियो तर आज उसले आफू स्कुलको लागि दत्तचित्त भएको प्रमाणित गरेर नै छाड्यो l एसईईको लागि विद्यार्थी बोर्डर्स छन् राति १० बजेसम्म पनि अध्यक्ष स्कुल वरपर बसेर शिक्षक र विद्यार्थीलाई निगरानी गरेर बसिरहेका हुन्छन् l’ मानौ स्कुल उनको खेतवारी हो जहाँ उनले बालीनाली लाएका छन् र बालीनाली स्याहार गर्न सिँचन गर्न उनी तन्मय साथ लागिरहेका छन l
वच्चाहरू स्कुलले बोर्डर्स गरेको समयमा तिनको खानपान,समय, सफासुघ्घर र खानाको क्वालिटी जाँच्न थापा सदैव स्कुलमा उपस्थित हुन्छन् l आफू कतै बाहिर गएको बेला स्कुलको रिपोर्टिंग प्रधानाध्यापकसँगबाट लिन्छन् र क्रस भेरीफाइको लागि अन्य शिक्षकसँग पनि सोधिरहन्छन् l केही स्थानीय अभिभावक उनका व्यक्तिगत स्वभावसँग विमति राख्छन् तर विद्यालयसँग जोडिएको उनको निष्ठा र समर्पणलाई भने प्रश्न गर्दैनन् l यसैबाट थाहा हुन्छ राजकुमार विशेष क्षमता प्रदर्शन गरेर आफूसँग विमति राख्नेसँग पनि स्कुलको मामलामा समर्थन लिन सक्षम छन् l यही विशेष क्षमताका कारण राजकुमार पाँचौ कार्यकालसम्म विद्यालयको अध्यक्ष बनिरहेका छन् l विव्यसको चुनावमा स्थानीय चुनावको झल्को दिने गरी प्रचारप्रसार हुने, भोज भतेर हुने र दलीय चुनाव जस्तै प्रतिष्पर्धा हुने गरेको पाइन्छ l तराईमा कति ठाउँमा गोली चलेर मान्छे मरेको उदाहरण पनि छ l तर सिद्दि गणेश माविको हकमा थापा आए देखि त्यतिठूलो असमझदारी बनेको छैन l सहज ढङ्गले थापालाई सबैले स्वीकार गरेका छन् l
सिद्दि गणेशमा पढाईको स्तर नराम्रो हुने बित्तिकै वरपरका निजी बोर्डिंग स्कुलमा विद्यार्थीको चाप बढ्छ l यस्तो बेला निजी स्कुलका संचालकहरू अनेक आश्वासन सहित प्रलोभन समेत दिन्छन् तर आफ्नो स्कुललाई बाधा पर्ने कुनै पनि लोभ धाक,धम्की सबै पैताला मुनि राख्छु, थापा सुनाउँछन् l खरिद र टेन्डर प्रक्रियामा थुप्रै आर्थिक चलखेल हुने र व्यापारी ठेकेदार आदिले दिने प्रलोभन विल्कुल निषेध गर्दै जे जति आर्थिक उपार्जन हुन्छ त्यो सबै विद्यालयको खातामा राख्ने प्रवन्ध उनले गरेका छन् l शौचालय र विद्यालय भवन निर्माण गर्दा प्राप्त भएको बजेटलाई उबारेर स्कुलको खातामा २४ लाख रुपैयाँ जम्मा गरेका छन् जसको व्याजले बस चालक र सहचालकलाई सेवा सुविधा दिन सहज भएको छ l
उत्कृष्ट विद्याल व्यवस्थापन समितिको अध्यक्ष २०६८को पुरस्कार प्राप्त गरेका थापा आफ्नो संस्थालाई सामुदायिक तर्फ उत्कृष्ट विद्यालय राष्ट्रिय पुरस्कार दिलाउन पनि सफल भएका छन् l आफ्नो खोजी अचेल धेरै ठाउँमा हुने गरेको र संचार माध्यम पत्रपत्रिकाले स्थान दिएकोमा थापा दङ्ग छन् l व्यवस्थापन समितिको अध्यक्षको नाताले देशभरका थुप्रै ठाउँमा तालिम सेमिनार र भ्रमणमा पुगेका थापाले प्रसस्त व्यवस्थापकीय ज्ञान हाँसिल गरेका छन् l कतै जाँदा आफूले देखेको र सिकेको नयाँ कुरा ल्याएर स्कुलमा लागू गर्छन् ; कागेश्वरी नगरपालिकाको शिक्षा सम्बद्द विषयमा थापालाई नसम्झने मान्छे कमै छन् l कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीको अवैतनिक सल्लहाकार जत्तिकै रहेको स्थनीयको भनाई छ l सामुदायिक तर्फ उत्कृष्ट स्थान हाँसिल गरेको सिद्दि गणेशको प्रतिष्पर्धा अब निजी स्कुलका पनि नामी स्कुलसँग रहेको छ l उनी सिद्दिगणेशलाई नेपालकै नमुना स्कुल बनाउन चाहन्छन् l आफ्ना ठुलो बुबा ठक्कर बहादुर थापा, काका बलराम थापा र आफू अध्यक्ष भएर चलाएको स्कुलमा आफ्नो आमा बुबा र आफू समेत परिचर भएर काम गरेको इतिहासमा थापा गर्व गर्छन् l सुकर्ममा विश्वास गर्ने थापा कामलाई ससानो ठुलो मान्दैनन् l निरन्तर समाज र समुदायको काममा छन् l आजकल सक्रिय पार्टी राजनीतिमा छैनन् तर राजनीतिको अभिन्न पाटो समाजसेवामा थापा सक्रिय र जागरुक छन् l सामुदायिक स्कुल बनाउने राजनीतिमै उनी रमाएका छन् l सिद्दि गणेशका अध्यक्ष राजकुमार थापाको मोडेल विद्यालय सम्बद्द सबैले आफ्ना वच्चा आफू कार्यरत विद्यालयमा नै अनिवार्य रूपमा पढाउनु पर्ने नियम मणिलिंगेश्वर आधारभूत विद्यालयले पनि अबलम्बन गरेको त्यस स्कुलका पूर्व अध्यक्ष र हाल सदस्य रहेका सुजन अधिकारीले सुनाए l अधिकारी भन्छन् ‘राजकुमार थापा सामुदायिक विद्यालयको शैक्षिक स्तरउन्नतिका पायोनियर हुन्, सार्वजनिक शिक्षा सुधारको विषयमा जहाँ जहिले बोलाए र सल्लाह लिए पनि उत्साहपूर्वक सहयोगी भावका साथ उपस्थित हुन्छन् l’ नाम उल्लेख नगर्ने सर्तमा एक जना शिशिका भन्नुहुन्छ: ‘अध्यक्षज्यू अनौपचारिक कार्यक्रममा एकदम अनौपचारिक भएर शिक्षक विद्यार्थी सबैसँग रमाइलो,हाँस,खेल,नाचगान,खानपान गर्नु हुन्छ तर औपचारिक स्थलमा उहाँ कठोर प्रशासकजस्तो बनेर प्रस्तुत हुनु हुन्छ l उहाँको कठोरतासँग अब हामी परिचित छौ यही बानी लागिसक्यो l यो सब संस्था बनाउनको लागि गर्नु भएको हो l
विद्यालयको भौतिक अवस्था
शिक्षाप्रेमी लक्किदेवी श्रेष्ठद्वारा प्रदान गरिएको तीन रोपनी भन्दा बढी जग्गा र कृष्णप्रसाद अर्यालले प्रदान गर्नु भएको जग्गा समेत गरी पाँच रोपनी नौ आना जग्गामा चार वटा भवन छन् l जहाँ पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा र कक्षा कोठाको व्यवस्था छ l शौचालय.पालेघर, खानेपानी र खेल मैदान लगायत भौतिक वस्तु विद्यालयले व्यवस्थापन गरेको छ l पाँच वर्ष अघिदेखि व्यवसायिक शिक्षाको रूपमा वालीविज्ञानको पढाइ हुन थालेकोले अर्को आकर्षण पनि थपिएको छ l बालीविज्ञानको प्रायोगिक सिकाईको लागि अध्यक्षले सामान्य भाडामा जग्गा स्कुललाई दिनु भएको बाली विज्ञान शिक्षक सवl पौडेलको भनाइ छ l हाल प्रदेश सरकारको अनुदान स्वरूप एउटा विद्यार्थी बोक्ने बस् पनि स्कुलसँग रहेको छ l जसले गर्दा विद्यार्थीलाई टाढा टाढादेखि आउन सहज भएको छ l
विद्यालयमा अतिरिक्त क्रियाकलापहरू खेलकुद, साहित्य सिर्जना, चित्रकला,गीतसंगीतलगायत सर्वांङ्गीण विकासको लागि पनि कार्यक्रमहरू संचालन गरिन्छन् l सामुदायिक विद्यालय भएर पनि सबै कक्षा अंग्रेजी माध्यमबाट संचालन गर्न सफल भएको कारण पनि निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न सहज भएको छ l तर अन्य सामुदायिक विद्यालयबाट यहाँ पढन आउने विद्यार्थीको माध्यम भाषा अंग्रेजी नभएको कारण असजिलो भएको र तिनका लागि विशेष कक्षा संचालन गर्नु पर्ने र त्यसको लागि आवश्यक जनशक्ति कमि भएको प्रअ बुद्दिविलास धितालको गुनासो छ l ‘अहिलेलाई स्कुलले जसोतसो म्यानेज गरेको छ l तालुकदार निकायले यो विषयमा दृष्टि दिए हामी स्कुललाई अझ उत्कृष्ट बनाउने यत्न गरिरहन्छौ l’
स्कुल व्यस्थापन यति चुस्त हुनुको राज
शिक्षक विद्यार्थी कसैको पनि संगठनलाई निषेध l
स्कुलमा अनावश्यक राजनीति र दलीय हस्तक्षेप बन्द l
आर्थिक पारदर्शीता र वित्त व्यवस्थापनमा विशेष सीप l
विभिन्न निकायबाट प्राप्त बजेटको सदुपयोग र उब्रेको रकम रकमान्तर गर्दै मूल आवश्यकता पूर्ति गर्ने l
शिक्षक कर्मचारी छनौट र नियुक्तिमा निस्पक्ष र पारदर्शिता र योग्यतम मध्यबाट चयन l
दण्ड र पुरस्कारको व्यवस्था l
सार्वजनिक लामो छुट्टीमा आवश्यकता र प्राथमिकताको आधारमा बिदा स्वीकृत l
पठन पाठनमा क्षतिपुर्तिको सिद्दान्त ( कुनै कारणवस आकस्मिक रूपमा स्कुल बन्द भए अर्को कुनै दिन पढाउनु पर्ने अनिवार्य नियम ) l
निरन्तर अनुगमन र पृष्ठपोषण l
सकारात्मक कुरा जसको पनि ग्रहण र अनुकरण l
कुनै पनि आर्थिक प्रलोभन अस्विकार l
स्मरणीय : आफ्ना पिता,पूर्खाले स्थापना गरेको स्कुल र सोही स्कुलमा उनकै सन्तान, भाइ भतिजा, छोरी बुहारी शिक्षक शिक्षिका भएर वर्षौ काम गरेका छन् l व्यवस्थापन समितिको अध्यक्ष र सदस्य बनेका छन् तर त्यस्ता स्कुलको शैक्षिक हालत अत्यन्तै कमजोर छ l किनभने तिनीहरूका छोराछोरी भइ बैनी त्यहाँ पढदैनन् l यो समस्या देशभरको सामुदायिक विद्यालयको हो l म केही वर्षदेखि निरन्तर सिद्दिगणेश स्कुल गएको छु l त्यस वरपरका अभिभावक, शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेको छु l विद्यालयको शैक्षिक वातावरण देखेको छु,सोही आधारमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष उनको पारिवारिक हिस्ट्री समेत संलग्न गरेर सामुदायिक स्कुलको स्तर उन्नतिमा उनको लगाव सबैको लागि प्रेरणादायी बनोस् भनेर यो सामग्री तयार गरेको हुँ l शैक्षिक योग्यताको कुरा गर्दा राजकुमारजी अण्डर एस.एल.सी. हुन् तर उनले जुन व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् त्यसको मुल्याङ्क कुनै डिग्रीधारी व्यवस्थापनको विद्यार्थी र विज्ञसँग हुन सक्तैन l पढाईको प्रमाणपत्र नै मात्र पनि सबै कुरा होइन,व्यवहारिक सीप र योग्यता, लगन निष्ठा र विद्यालयप्रतिको समर्पण विशेष हो l प्रत्येक जिल्लामा राजकुमार थापाजस्ता शिक्षामा समर्पित विद्यालय व्यस्थापन समितिका अध्यक्ष हुने हो भने हाम्रो सामुदायिक शिक्षाले फड्को मार्न बेर लाग्दैन l गुणस्तरीय, व्यावसायिक र नैतिक शिक्षा राष्ट्र निर्माणका आधार हुन् l सामुदायिक विद्यालयलाई अब्बल बनाउने राजकुमार थापाको सामुदायिक विद्यालयका शिक्षकलाई एउटा प्रश्न –‘आफ्ना छोराछोरी आफैले पढाउन असक्षम हुनुहुन्छ भने हाम्रो सन्तान पनि पढाउन योग्य हामी ठान्दैनौ ? आफ्ना बच्चा पनि आफूले पढाउने सामुदायिक स्कुलमा राख्नुस अनि हामी पनि तपाईलाई हाम्रा वच्चा पढाउन योग्य देख्छौं l’ त्यसैले प्रथमत: सामुदायिक विद्यालयसँग सम्बद्द सबैले आफ्नो सन्तानलाई आफ्नै स्कुलमा पढाउनुपर्ने मान्यता कार्यन्वयन आफैबाट पालना गरेमा नेपालको सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने गायत्री मन्त्र बन्नेछ l
लेखक सञ्जीव कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर एम.फिल- पिएच.डी.का अनुसन्धानदाता हुन्।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९