काठमाडौँ । सार्वजनिक यातायात मजदुरसम्बद्ध सङ्गठनले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने घोषणा गरेका छन् ।
आज सिंहदरवारमा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा समझदारी भएपछि मजदुर सङ्गठनका पदाधिकारीले उपत्यकामा आह्वान गरेको बन्द, हडताल फिर्ता भएको घोषणा गरेका हुन् ।
वार्तामा मन्त्री श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएपछि उनीहरू सार्वजनिक यातायात तत्काल चलाउन सहमत भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।
तर, यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन् । सोमबार आन्दोलनरत मजदुरहरूले प्रहरीको दुई वटा भ्यान र अस्थायी प्रहरी बिट जलाएका थिए । त्यस्तै ल्होल्से मलमा समेत तोडफोड गरेका थिए ।
उनीहरूले आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आजबाट उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका थिए । मंगलबार बिहानैदेखि काठमाडौँका सडकमा गाडी नचलेपछि यात्रु मारमा परेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९