हेटौँडा । माओवादीसँगको सत्ता साझेदारीमा आगामी साढे दुइबर्ष पछि मुख्यमन्त्री बन्ने अवसर पाएका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगनाथ थपलिया आफै मन्त्री बन्न गएका छन् । एमाले माओवादी बिच भएको समझदारी बमोजिम बाग्मती प्रदेशमा पहिलो साढे दुई वर्षका लागि माओवादीका शालिकराम जमरकट्टेल र त्यसपछि बाकी साढे दुई वर्षका लागि एमालेका जगनाथ थपलिया मुख्यमन्त्री हुँदै थिए । मुख्यमन्त्रीको भागबन्डामा परेका नेता आफै मन्त्री बन्न गएपछि एमाले बाग्मती प्रदेशका अन्य सदस्यहरू आश्चर्यमा परेका छन् । मुख्यमन्त्रीको रुपमा पालो कुर्नुपर्ने संसदीय दलको नेता स्वयं मन्त्री बन्न लोभ गरेपछि बाकी सदस्यहरू अच्चमीत भएका छन् ।
नेकपा एमालेका एक नेताका अनुसार थपलिया आगामी साढे दुई बर्स पछि मुख्यमन्त्रीको रुपमा जाने भएपछि यतिबेला पार्टीका अन्य सांसदको नेतृत्वमा पार्टी प्रदेश सरकारमा सहभागी हुने मोटामोटा सहमति थियो । तर यसअघि मुख्यमन्त्रीको सल्लाहकार बाहेक आज सम्म कुनै राजकीय पद नपाएका थपलिया मन्त्री खान पनि आफै दौडिए पछि उनको लोभको पराकाष्ठा प्रस्तुत भएको छ । अन्य नेताको नेतृत्वमा सरकारमा सहभागी हुने समझदारी पार्टी नेताहरूको बिचमा बनेपछि थपलिया रातारात पूर्व मुख्यमन्त्री डोरमणि पौडेललाई बोकेर पार्टी अध्यक्ष केपी ओलीकहाँ अनुनय गर्न पुगेका थिए ।
थपलियाको यस्तो लोभले उनले मुख्यमन्त्री हुने नैतिक अधिकार गुमाएको एमाले बाग्मती प्रदेशका अर्का एक सांसदले आजको न्युजलाई बताएका छन् । केन्द्रमा प्रचण्ड र केपी ओली बिच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छ । थपलियाको यो कदमलाई पार्टीका नेताहरूले प्रचण्डको नेतृत्वमा केपी ओली मन्त्री बन्न गएकोझै बुझेका छन् । आज आफै मन्त्री बन्न दौडिने व्यक्ति भोलि कसरी मुख्यमन्त्री बन्न सक्छन्, सायद संसदीय दलभित्र यसबारे छलफल हुने र आगामी दिनमा थपलियालाई दलको नेताबाट फिर्ता बोलाउनुपर्ने अवस्था आउन सक्ने तर्फ पनि एमाले नेताहरूले संकेत गरेका छन् ।
संसदीय दलको नेताको रुपमा दोश्रो चरणमा आलोपालो मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका नेता आफै मन्त्री बन्ने कुराले स्वयं उनको गरिमा घटेको र उनका कारण पार्टीकै प्रतिष्ठामा आच पुगेको बाग्मती प्रदेशका एक सांसदले आजको न्युजलाई प्रतिकृया दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९