आजको न्युज विश्लेषण
काठमाडौँ । माओवादी सुप्रिमो प्रचण्ड यता काठमाडौँमा तेस्रोपटक प्रधानमन्त्री बन्न बालकोटस्थित ओलीको बार्दलीमा हात हल्लाइरहेका बेला सुदुरको गड्डाचौकीमा भने नेपालीहरूको एक समूह चौकीदारी गरेरै भएपनि पेट पाल्ने उद्देश्यले लालाबाला सहित भारततर्फ पलायन हुने तयारी गरिरहेको थियो । भारतसँग जोडिएका गड्डाचौकी र यस्तै दर्जनौँसीमामा मात्रै होइन आफ्नो परिवारको जीवन धान्न काठमाडौँको बिमानस्थलमा पनि विदेश पलायन हुनेहरूको लर्को लागिरहेकै थियो । काठमाडौँमा चलिरहेको सत्ताको रस्साकस्सीबारेबेखर मात्रै होइन दिक्दार देखिएका उनीहरूकोएउटैउद्देश्य र सपना थियो : बिरानो भूमिमा विदेशीको हप्की दप्की सहेरै भएपनि दुईछाकआफुखाने र आफूमा आस्रित परिवारको पनि हातमुख जोर्ने ।
आम जनतामा अरुबेलाको भन्दा निराशाको ग्राफ झन बढेको छ । अरुबेला त कम्तीमा निर्वाचन पछि देशमा स्थिरता आउला र देशभित्रै परिवारसँग बसेर दुःखसुख गर्न पाइएला भन्ने आश क्षितिजमै भएपनि कायम थियो । भर्खरै निर्वाचन सकिएको छ र परिणाम हामी सबैका सामुन्ने छ । निर्वाचनको यो परिणामले कम्तीमा आगामी पाँच बर्ष आम जीवनमा कुनै पनि प्रकारको उत्साह भर्ने छैन भन्ने यकिन जस्तै छ । सायद आम जनतामा निराशा बढ्नुको कारण पनि यही होला । जति सुकै दुख कष्ट सहेर भएपनि आगामी पाँच बर्ष बाच्नकै लागि विदेशी भूमिमा आफ्नो खुन पसिना बगाउनुपर्ने बाध्यताले आम जनतालाई थप निराश बनाउनेनै भयो । यस्तो निराशै निराशाका बिच प्रचण्डको सत्तारोहण भएको छ । यसपटक उनको सत्तारोहण अनिश्चयका बिच मात्रै होइन निकै अस्वभाविक ढंगबाट पनि भएको छ । अस्वभाविक यस अर्थमा कि उनले निर्वाचनमा गरेको गठबन्धन प्रधानमन्त्री पदका लागि चटक्कै छोडिदिएका छन् । फगत अर्को एकपटक प्रधानमन्त्री बन्ने उद्देश्यले आफैले यसअघि लिएका निती बिचार मात्रै होइन खाएका बाचा कसमलाई पनि बीचबाटोमै असरल्ल छोडिदिएका छन् ।
प्रचण्डलाई यति सम्म पनि हेक्का भएन कि यो निर्वाचन के कारणले सम्भव भएको थियो र निर्वाचन अघि आफूले के भनिरहेको थिए । उनीहरूले प्रतिपक्षको भूमिकामा रहेका शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिइदिनुपर्यो भनेर पटक पटक दवाव दिएका थिए । आफ्नो सरकारले सोचे जस्तो काम गर्ने अवस्था नभएपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरि मध्यावधि निर्वाचनमा जाने घोषणा गर्दा शेरबहादुर देउवा त्यो निर्वाचनमा कांग्रेसलाई एक्लै सामना गराउने पक्षमा थिए । केपी ओलीले संसद बिघटन गरेको लामै समय सम्म कम्तीमा देउवाले बिरोध गरेका थिएनन् । तर आफ्नै पार्टीका नेताहरु र ओलीका तत्कालीन सहयाात्रीहरुको दवावका बिच उनी प्रधानमन्त्री पद स्वीकार गर्न तयार भएका थिए । हामी कल्पना गरौ यदि देउवाले त्यो पद लिन अस्वीकार गरेका थिए अर्थात सर्वोच्चले ओलीको त्यो घोषणालाई सदर गरिदिएको हुन्थ्यो भने कम्तीमा एमाले र कांग्रेस एक्लै निर्वाचनमा जाने अवस्था बन्थ्यो । कांग्रेसले गठबन्धन गरिदिएको हुन्न थियो भने माओवादी आजको अबस्था भन्दा पनि निम्छरो हुने पक्का पक्की जस्तै छ ।
तर त्यस्तो भएन सर्वोच्चले ओलीको घोषणा बदर गरिदियो र देउवा आफुमात्रै प्रधानमन्त्री बनेनन पिधमा पुग्नै लागेको माओवादीको अस्तित्व जोगउन पनि तयार भए । जस अनुसार गठबन्धन बन्यो । गठबन्धनको सरकार बन्दा र निर्वाचन सम्पन्न हुन्जेलसम्म प्रचण्डले आफ्नो महत्वपूर्ण समय एमाले र केपी ओलीलाई सिध्याउन खर्च गरे । दुइ नेताहरुको आरोप प्रत्यारोप निर्वाचनको सम्मुखै पुगुन्जेल गाली गलौजमा परिणत भइसकेको थियो । तर देश दुनियालाई चक्मा दिदै दसक बढि समय चल्ने भनेर आफैले घोषणा गरेको गठबन्धन तोड्दै उनै प्रचण्ड ओलीको शरणमा पुगेर तेश्रो पटक प्रधानमन्त्री बनिसकेका छन् । सायद प्रचण्डको यस्तै चरित्रका कारण होला उनको महत्व दिन प्रतिदिन घट्दै गएको । आफुलाई प्रधानमन्त्री बन्नुलाई मात्रै सफलता मान्ने हो भने त प्रचण्ड तीन पटक यो देशको प्रधानमन्त्री बनिसकेका छन् तर उनले विगतमा गरेको क्रान्ति र जनतलाई देखाएको सपनाको हिसाव किताव गर्दा सुन्य बाहेक केही देखिदैन । त्यो बिचार, त्यो क्रान्ति र आम जनताको अपेक्षाको ग्राफलाई धुजा धुजा पार्दै अनेक बान्की र रंगका नेता र दलहरुलाई एकठ्ठा पारेर भ्यागुताको धार्नी पुरयाउदै उनी प्रधानमन्त्री बनेका छन् । त्यो बिद्रोह र गरिव जनताले उठाएको दुख, कष्ठ र त्याग, बलिदान फगत प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सिमा पुरयाउन मात्रै थियो त ? प्रचण्ड प्रधानमन्त्री हुने बितिकै गरिव नेपाली जनताले मुक्ति प्राप्त गरे ? समयले पक्कै पनि त्यसको हिसाव किताव गर्ला तर आज भने हामी यसपटक उनको प्रधानमन्त्रीको यात्रा कति चुनौतिपूर्ण छ भन्ने तर्फ विमर्श गरौ ।
जसको बलमा र आर्शिवादमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् त्यो शक्ति भित्रैदेखि प्रचण्डको पक्षमा छैन । राष्ट्रपति, सभामुख जस्ता पद र आगमी साढे दुइबर्षको आफ्नै सत्तारोहणको बाध्यताले ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भएपनि उनलाई भित्रै देखि सहयोग गर्ने अवस्था देखिदैन । अस्तीको दिन सम्म आफुलाई सत्तो सराप गरिरहेका ओलीको समर्थनमा प्रधानमन्त्री बनेर सपथ ग्रहण गरिसक्दा पनि प्रचण्डको अनुहारको कान्ति हराई रहेको थियो । स्वयम ओली र एमालेको रणनीतिक मुभमा प्रयोग मात्रै भएका छैनन कि फरक, फरक पृष्ठभूमिका दलहरुसंगको साझेदारी पनि सत्तायात्राको स्वभाविक कदम नभई बाध्यताको उपज मात्रै देखिन्छ । प्रचण्डका सामु फरक, फरक बिचारका अनेकन दल र नेतारुलाई संगै लैजाने मात्रै होइन ओलीको आकक्षा र योजनाको सहयोगी बनिरहनुपर्ने बाध्यता पनि कायमै छ । यस्तो अबस्थामा प्रचण्डले असहजतालाई सहजतामा बदलेर गुम्दै गरेको माओवादी शाखलाई बचाउछन कि थप धुलिसाद पार्छन त्यो भने समयले प्रष्ट गर्नेनैछ । उनको अबको यात्रा एमालेका कारण मात्रै होइन फरक बिचार सहित सहयात्री बन्न आइपुगेका महत्वकाक्षीहरुको काम कारवाहीले पनि तय गर्नेछ ।
रवि लामिछाने :
पार्टी स्थापना गरेको ६ महिना भित्र २० सिट प्राप्त गर्दै प्रचण्डको उपप्रधानमन्त्री एंव गृहमन्त्री बन्न आइपुगेका रवि लामिछाने प्रचण्डका सबैभन्दा बिरोधाभाषपूर्ण सहयात्री हुन । पार्टी खोले यता मात्रै होइन आधा दशक भन्दा बढी उनले गरेको संचारकर्ममा कसैलाई उनले तारो बनाएका थिए भने ती प्रचण्ड नै थिए । प्रचण्ड बिरुद्ध उनले हरेक रात टेलिभिजनको स्क्रिनबाट आगो ओकलिरहेका हुन्थे । हुनपनि उनको त्यो यात्रा प्रचण्डकै कारण सम्भव भएको थियो । प्रधानमन्त्रीसँग सम्वाद चलाईरहेका उनलाई जसै प्रचण्डले निकालिदिए तव उनले जनतासँग सिधा कुरा भन्दै हरेक रात एक घण्टा भन्दा बढि समय टेलिभिजनको स्क्रिनमा यावत बेथिति बिरुद्ध आक्रमण गरे । उनको त्यो निसानामा सबैभन्दा बढि स्थापित दलका नेताहरु र त्यसमा पनि एक नम्बरमा प्रचण्डनै पर्ने गरेका थिए । उनले टेलिभिजनको स्क्रीनबाट प्रचण्डका बिरुद्ध भन्न मिल्ने मात्रै होइन भन्न नमिल्ने सम्म पनि भने । प्रचण्ड, देउवा र ओलीजस्ता नेताहरुले बिभिन्न कालखण्डमा गरेको संघर्षबाट प्राप्त लोकतन्त्रको सबैभन्दा बढि प्रयोग उनैले गरे र हरेक रात उनीहरु बिरुद्ध सत्तो सराप गरे ।
बिरोधाभाष किनभने उनले हरेक रात यी दलहरु र उनीहरुद्धारा सञ्चालन गरिएका राज्यसत्ताका हरेक तह र तप्कालाई नैतिकताको लम्वेतान पाठ पढाइरहेका हुन्थे । कहासम्म भने हरेक पटक भएका मन्त्रीमण्डल बिस्तारमा मन्त्री हुन जानेहरु समेत उनको निसानामा पर्ने गरेका थिए । त्यसअघि दुइ या तिन जना सम्म उपप्रधानन्त्री बनाएकोमा समेत उनले घोक्रो सुक्ने गरि बिरोध गरेको देखिन्थ्यो । कम्तीमा प्रचण्डबाट चाही देश र जनताको भलो हुन नसक्ने उनको ठोकुवा हुन्थ्यो र उनबाट नैतिकताको आश गर्न नसकिने फर्मान पनि जारि गरिरहेका देखिन्थे ।
तर निर्वाचनमा जनताले भोट दिदा लगाएको मसी सुक्न नपाउदै उनै प्रचण्डको प्रधानमन्त्तीत्वमा उपप्रधानमन्त्री बन्न तछाड मछाड गरेको देखियो । हिजो प्रचण्ड बिरुद्ध आगो ओकल्ने उनको प्रचण्डप्रति एकाएक सम्मानको भाव जागेर आयो र उनी बाहेक अर्को क्रान्तिकारी र जननेता उनले अरुलाई देखेनन । आफैले बोलेका र जनतालाई उचाल्न प्रयोग भएका सबै बाणिहरु फगत जनतालाई बेवकुव बनाउन र दिग्भ्रमित पार्न प्रयोग भएको वायुबाहेक केही भएन । आफैले देशका गद्धार घोषणा गरेकाहरु कसरी देशभक्त भए, कसरी क्रान्तिकारी र जननेता भए त्यसको जफाव समयक्रममा उनले जनतालाई दिनै पर्ला ।
निर्वाचन अघि आफु प्रतिपक्षीको बेन्चमा बसेर जनताको सुखदुखको साथी बन्ने बाचा कसम खाएका उनै लामिछाने निर्वाचन सकिदा नसकिदै जो र जस्तो सुकै नेतासँग किन नहोस सत्तारोहण नभई नछाड्ने धाउन्नेमा लागे । उसोभए निर्वाचन अघि र त्यसअघि उनले अभिव्यक्त गरेका बिचारहरु उनले होसमै बोलेका थिए या अन्य कुनै कारणले । अरुको बोलीको ठेगान नभएको भनेर नथाक्ने उनले आफ्नै बोलीको ठेगान चाही कता लगाएर आए ? आफैले गद्धार भनेकाहरुमुनी उनकै आदेशको पालना गर्न मन्त्री बन्न हतरो किन गरे ?
लामिछानेको बोली र व्यवहार बिचको तादम्यता नमिलेको देखिरहेका उनकै समर्थकहरु समेत जिल्ल भइरहेको देखिन्छ । बोली र व्यवहार बिचको तादम्यता नमिलेको हेर्ने त नेपालीहरुलाई अरुनै नेतारुले बानि पारिदिएका छन त्यसमा पनि धेरै नजाउ । तर प्राकृतिक न्यायको सिद्धान्तमा बिरोधाभाष हुनेगरि उनले गृहमन्त्रालयमै जान खोज्ने र सत्ताका लागि उनलाई त्यो पद दिन तयार भएका ओली र प्रचण्डलाई हेर्दा लागिरहेको छ यो देशमा जसले जे गरेपनि हुन्छ । उनी नेपाली थिए, छन र रहनेछन त्यसमा कसैले बिरोध गरेको छैन र गर्नुपनि हुँदैन । तर कुनैपनि नेपालीले औपचारिक रुपमा नागरिकताको प्रमाणपत्र लिन पनि प्रक्रिया पुरयाउनुपर्छ । उनी नेपाली थिए बिचमा अमेरिकन भए र फेरि अमेरिकन प्रमाण त्यागे र पुनः नेपाली प्रमाण कायम गर्न नागरिकता पूर्नप्राप्तीको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । के यो रवि लामिछानेका लागि मात्रै नेपाल सरकारले बनाएको नियम हो र ?
यो त सबै नेपाली, जसले आफ्नो नागरिकता त्यागे र विदेशी लिए अनि फेरि विदेशी त्यागेर नेपाली नागरिकता पुर्नप्राप्त गर्न खोजे, ति सबैका लागि बनाइएको राज्यको नियम हो । त्यो नियम कुनैपनि देशमा रहेको सामान्य नागरिक देखि देशका बडेबडे नागरिकले पनि पालना गर्नुपर्ने हो । कि आफ्नो पक्षमा केहि लाख जनता देखिने बितिकै उनले अरु सर्बसाधारणका लागि बनाइएका कुनैपनि नियम पालना गर्नुपर्दैन ? होइन भने कानुन र नियम सबैका लागि बराबर हुनुपर्छ भन्दै हरेक रात उपदेश दिने उनी आफैले चाही त्यसको पालना गर्नुपर्दैन ? अनि आफ्नै बिरुद्ध छानविन गरिरहेको निकायमै नेतृत्व गर्न नमिल्ने प्राकृतिक न्यायको सामान्य सिद्धान्तको पनि बिरुद्ध हुने गरि उनी किन गए ?
र देशको गृहमन्त्री भइसकेपछि प्रचण्ड र देउवाले पारित गरेर पठाएको तर ओलीहरुले बिरोध गरेको नागरिकता सम्बन्धि बिधियेक जुन राष्ट्रपतिले रोकेर राखेकि थिइन त्यसबारे उनले कसरी सहमति जुटाउलान ? त्यो बिधेयक जुन सधै राष्ट्रपति कार्यालयमै थन्किरहने अवस्था रहदैन । ढिलो चाडो यसबारे निर्णयमा पुग्नुपर्छ र गृहमन्त्रीको हैसियतले उनको आफ्नो कार्यक्षेत्रभित्र पर्ने नागरिकता सम्बन्धि बिषय कसरी टुंगोमा पुरयाउलान अर्थात त्यसबारे उनको धारणा के होला ? आम जनताले त्यो बिषयलाई पनि गम्भीर ढंगले हेरिरहेकै होलान ।
राजनीतिक बिचारको दृष्टीकोणले उनले देशलाई कस्तो बनाउन चाहन्छन भन्ने अहिले सम्म प्रष्ट भइसकेको छैन । तर यति चाही प्रष्टै भन्न सकिन्छ उनले सार्वजनिक सञ्चार माध्यममार्फत बर्तमान परिवर्तनका बिरुद्ध जुन जेहाद छेडेका थिए त्यस हिसावले उनी गणतन्त्र र यो खालको शासकिय स्वरुवको बिरुद्धमा छन् । तर आजभोली उनले आफुहरु गणतन्त्रवादी भएको बताइरहेका छन् । राजनीतिक रुपले जे भएपनि कम्तीमा केही समय अघि नेपाली जनजनमा पुगेको एमसिसीको बिषयमा उनको धारणा के रहेछ त्यो पनि जनताले अहिले सम्म जफाव पाएका छैनन । देउवा, ओली र प्रचण्डहरुले एमसिसी पारित गरेको भएपनि बहुसंख्यक नेपाली जनता त्यसको पक्षमा छैनन । अरुले दिएको भिखले देशको बिकास हुदैन भन्दै त्यसप्रकारको रणनीतिक सहयोगहरुबाट टाढै रहनुपर्ने आम जनताको बुझाईका बिच मुख्य दलहरुले पारित गरि पठाएको त्यो बिषयमा चोथो ठुलो दलका हिसावले उनको धारणा के होला ? त्यति गम्भीर बिषयमा सायद जनतालाई उनले आफ्नो पोजिशन क्लीयर गर्नैपर्ने होला ।
यी र यस्ता कैयन बिरोधाभाषले घेरिएका लामिछाने सत्ताकै लागि जनतालाई दिग्भ्रमित गरिरहका थिए भन्ने कुरा उनको हतारको सत्तारोहणले प्रष्ट गर्दै लगेपनि उनले आगामी दिनमा कस्तो रवैया देखाउनेछन प्रचण्डको आगामी यात्रा त्यसमा पनि केही हद समम निर्धारण हुनेछ ।
राजेन्द्र लिङदेन : राजतन्त्र सहितको प्रजातन्त्रको पक्षमा रहेका राजेन्द्र लिङदेन राजतन्त्रको उन्मुलनमा नेतृत्वदायी भूमिका खेलेका प्रचण्डलाई किन समर्थन गर्न पुगे यो सामान्य गणितको बिषय मात्रै होइन र त्यसलाई त्यसरी लिन मिल्दैन पनि । यदि उनले एकातिर राजतन्त्र फर्काउने र अर्कोतिर गणतन्त्रका सुत्रधारको सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने हो भने कम्तीमा अब उपरान्त कमल थापाको बिरोध नगरुन । भनुन म आफ्ना मुद्धालाई सत्तासंग साट्न तयार छु । म र कमल थापामा केहि फरक छैन भनेर । नत्र मोही माग्ने ढुङ्ग्रो लुकाउने उनको खेल आगामी दिनमा जनताले सदाका लागि बन्द गरिदिनेछन ।
यी र यस्ता रंगी बिरंगी बिचार बोकेका सप्तरगी पार्टी र तिनका महत्वकाक्षी नेताहरुको व्यवस्थापन गर्नुमै प्रचण्डको आगामी सत्तायात्राको निर्धारण हुनेछ । उल्लेखित बास्तविकताले प्रचण्डको तेश्रो सत्तारोहण साच्चिकै प्रचण्डै चुनौतिहरुले भरिएको छ भन्दा अतिशयुक्ति नहोला ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९