काठमाडौँ । धनगढीको मुख्य सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना बुधबारदेखि भत्काउन सुरु गरिएको छ । धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित नगरप्रमुख गोपाल हमाल आफैँ सडकमा उत्रेर भत्काउन सुरु गरेका छन् ।
सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्त सम्म हटाइसक्न सूचना जारी गरिएको भएपनि अटेर गरेपछि नगरप्रमुख हमाल आफैँ डोजर लिएर सडकमा निस्केका हुन् । उपमहानगरपालिकाले बुधबार धनगढीको अस्पताल लाइनमा रहेका सटरहरू भत्काउन सुरु गरेको छ ।
प्रदेशको अस्थायी मुकाम र मुख्य सहरका रूपमा रहेको धनगढीको मुख्य बजार साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो । उपमहानगरले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक चौडा बनाउन लागेको हो ।
सडक चौडा बनाउन केही घरधनीहरूले उपमहानगरपालिकाको प्राविधिक सहयोगमा आफैँ संरचना हटाइसकेको उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखाले जनाएको छ ।
मुख्य बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर दर्जनौँ संरचना निर्माण गरिएका थिए । ती संरचनालाई हटाएर पार्किङ व्यवस्थासहित फुटपाथ र साइकल लेनसमेत भएको अत्याधुनिक सडक निर्माण गर्ने योजना उपमहानगरको छ । सडक निर्माणका लागि परामर्शदातामार्फत सर्भेको काम भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९