काठमाडौँ । वामपन्थी नेता लुला दा सिल्भा तेस्रो पटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् ।
निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए ।
यस पटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो ।
कोभिडकालमा बोल्सोनारो विवादित बनेका थिए । साथै देश भोकमरीको समस्या पनि देखा परेको थियो । ७६ वर्षीय सिल्भाले आफ्ना विगतका उपलब्धि, बोल्सोनारोका विवादित कामको शृङ्खला र भोकमरी अन्त्य गर्ने विषयलाई प्रमुख एजेन्डा बनाएका थिए । साथै उनले नयाँ कर प्रणालीको पनि प्रतिज्ञा गरेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९