काठमाडौँ । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकको सञ्चालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो ।
सुरुमा युवाका सरोकार र रमाइला प्रसङ्गमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरूमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निष्क्रिय बनाइएको यो ग्रुपका सञ्चालकले आकलन गरेका छन् ।
यसका एक जना एडमिनले फेसबुक एआईले एमआरआरलाई निष्क्रिय गराएको जानकारी दिएका छन् । तर कुन पोस्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको उनको भनाइ छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरूसँग घृणा फैलाउने खालका पोस्ट रोक्ने विषयमा छलफल गरेको थियो ।
यो ग्रुपका एडमिनका अनुसार निर्वाचन आयोगको पहलमा फेसबुकको मातृ कम्पनी मेटाले निष्क्रिय गराएको बताएका छन् । उक्त ग्रुपलाई अहिले पुनः निष्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको सञ्चालकले जनाएका छन् ।
एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौँको मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई जिताउन सक्रिय भएको थियो । ठुलो संख्यामा युवाहरू समावेश भएको ग्रुप भएकाले यसले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि कुनै न कुनै रूपले प्रभावित पार्न सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरूले गरेका थिए । एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९