काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् ।
सोमवार काठमाडौँ योजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका हुन् । उनले जलवायु परिवर्तनका कारण विभिन्न असर पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए ।
पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिइरहेको र व्यापार घाटा भइरहेको उनले बताए । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने धारणा राखे ।
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्त्वपूर्ण रहेको बताए । यसमार्फत नेपाललाई विश्व बजारमा पहुँच वृद्धि गर्न र लगानी भित्र्याउन पनि सकिने उनले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९