काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउन साथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जति बेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौँको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको हो ।
काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ। लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ।
भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेस्ट इन्डिज पुगेका थिए।क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन्।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९