काठमाडौँ । आजबाट एकसाथ दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट तथा पुरस्कृत चलचित्र रहेको छ ।
चलचित्रले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गरेको छ । जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गरेको समेटेको छ ।
चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । चलचित्रमा सिरु विष्टको अलवा कञ्चन चिमरिया, दिनेशखत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतको अभिनय रहेको छ ।
त्यस्तै, गोर्खाहरुका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र हो ‘गोर्खा : बिनिथ द ब्रेभरी’ । समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्म प्रदीप शाहीले निर्देशक गरेका छन् ।
साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन्, भने मधु गुरुङ र प्रयास गुरुङले निर्माण गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९