बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नम्रता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो।
नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि स्वास्थ्यकर्मी तत्काल आउन नसक्ने भए।
निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ। आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे। खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन्।
उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन। बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठुलो अस्पताल लैजानुपर्ने बताइन्।
भौगोलिक विकटताका कारण यातायात सेवाको पहुँच छैन। नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किइन्।
आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै बच्चा जन्माइन्। बच्चा जिउँदो थिएन। केहीबेरमा गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन्। उनले विकको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइन्।
‘उनलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए। मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगी सकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए। अहिले त्यहीँ उपचार भइरहेको छ,’ उनले भनिन्।
विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन्।
‘दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्। धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो,’ उनले भनिन्।
विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको छ। अहिले उनको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ। बागलुङका दूर दराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन। त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन्।
विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे। ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउँछन्।
ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ।
‘धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्। उहाँले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो,’ उनले भने।
ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताए। ‘कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो’, उनले भने।
समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको उनले बताए।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९