काठमाडौँ । घरेलु टोली केन्याविरुद्धको चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले हार व्यहोरेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो । केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । तर, टोलीलाई जित दिलाउन सकेनन् । आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । करण केसी ५ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन् ।
सन्दीप लामिछाने ४ रनमा अविजित रहदा साहब आलम सुन्य रनमा अविजित रहे । केन्याका रकिप पटेलले ३ विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए ।
यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए ।
आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । यस जितसँगै पाँच खेलको टी(ट्वान्टी सिरिजमा केन्याले २-२ को बराबरी गरेको छ ।
अब निर्णायक मानिएको नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९