काठमाडौँ । चीनमा बसेर पढ्न अनुमति (भ्यालिड स्टडी रेसिडेन्स पर्मिट) पाएका विद्यार्थीहरु आजदेखि चीन फर्किन पाउने भएका छन् । परराष्ट्र मन्त्रालयले आजदेखि ‘एपीईसी बिजनेस कार्ड’ बाहक व्यापारीहरुलाई पनि चीन प्रवेश अनुमति दिएको जनाएको छ ।
भिसा अवधि सकिएका पुराना विद्यार्थीले भने सम्बन्धित विश्वविद्यालयले फिर्ता आउन दिएको प्रमाण (ब्याक टू स्कुल अप्रुभल लेटर)सहित भिसा आवेदन दिन सक्नेछन् । त्यस्तै, नयाँ विद्यार्थीले सम्बन्धित विश्वविद्यालयको भर्नाको सूचनाका आधारमा भिसा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
यसअघि, चीनमा पढ्दै गरेका र कोभिड १९ महामारीका कारण बीचमै पढाइ छोडेर नेपाल आएका २६५ जना विद्यार्थी चीनले फिर्ता लगिसकेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९