काठमाडौँ । कर्णाली प्रदेश सरकारका पदाधिकारीको भ्रमण खर्चमा आर्थिक वर्ष २०७८/७९ मा अस्वाभाविक वृद्धि भएको छ । अघिल्ला तीन आर्थिक वर्षको तुलनामा सो आर्थिक वर्षमा भ्रमण खर्चमा तीन गुणा वृद्धि पाइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्याङ्क अनुसार प्रदेश सरकारका मन्त्रीहरूले ०७४ साल फागुन महिनादेखि ०७८ असार मसान्तसम्म भ्रमण खर्च बापत एक करोड ३६ लाख ४३ हजार ४३४ रुपैयाँ खर्च गरेका थिए । तर, आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ६२ लाख ९३ हजार ७७२ रुपैयाँ भ्रमण शीर्षकमा खर्च भएको छ ।
प्रदेश सरकार गठन भएको पहिलो वर्ष ०७४ फागुन महिनादेखि ०७५ असार मसान्तसम्म अर्थात् पाँच महिनाको अवधिमा ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण खर्चमा सकिएको थियो ।
यस्तै, ०७५ साउनदेखि ०७६ असार मसान्तसम्मको अवधिमा भ्रमण खर्च बापत ३५ लाख ३ हजार १४ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा ३७ लाख ६६ हजार ५६ रुपैयाँ र आर्थिक वर्ष ०७७/०७८ मा ५७ लाख ७२ हजार १९४ रुपैयाँ भ्रमण खर्चमा सकिएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा भने ४ करोड ६२ लाख ९३ हजार ७७२ रुपैयाँ भ्रमण खर्चमा सकिएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमध्ये मुख्यमन्त्री, मन्त्रीहरूको भ्रमण खर्चमा ३ करोड ९४ लाख २१ हजार ११५ रुपैयाँ र विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च शीर्षकमा ६८ लाख ७२ हजार ६५७ रुपैयाँ खर्च भएको छ ।
प्रदेश सरकारले गत आर्थिक वर्ष ०७८/०७९ मा सञ्चार महसुल खर्चमा मात्रै २ करोड ७० लाख १६ हजार २३९ रुपैयाँ खर्चिएको छ । इन्धन खर्चमा पनि करोडौं रकम बर्सेनि सकिने गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष तीन वटा शीर्षकमा इन्धन खर्चबापत ६ करोड ५४ लाख ९५ हजार ८२० रुपैयाँ सकिएको छ । लेखा नियन्त्रक मानबहादुर बमका अनुसार प्रदेश सरकारका पदाधिकारीहरूले मात्रै एक वर्षमा ५५ लाख ८८ हजार ५८२ रुपैयाँ बराबरको इन्धन प्रयोग गरेका छन् ।
यस्तै, कार्यालय प्रयोजनका ५ करोड १४ लाख ९८ हजार ८५ रुपैयाँ बराबरको इन्धन खर्च भएको छ । अन्य प्रयोजनका लागि इन्धन खर्चबापत ८४ लाख ९ हजार १५३ रुपैयाँ खर्च भएको बम बताउँछन् ।
तथ्याङ्क अनुसार प्रदेश सरकारले खरिद गरेका सवारी साधनहरूको मर्मत खर्च मात्रै एक वर्षमा ५ करोड ८२ लाख ५० हजार ९०० रुपैयाँ छ भने मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालनका लागि २ करोड ८२ लाख २४ हजार ७२८ रुपैयाँ खर्च भएको छ ।
सरकारले पशुपंक्षीको आहाराका लागि १० लाख ८८ हजार ७०० रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयहरूमा पुस्तक तथा सामग्रीका लागि २८ लाख ८७ हजार ६३० रुपैयाँ खर्च भएको छ ।
यस्तै घरभाडा बापत पनि प्रदेश सरकारले ठुलो रकम खर्च गर्ने गरेको छ । गत आर्थिक वर्ष ४ करोड ९६ लाख ३८ हजार ३७७ रुपैयाँ घरभाडामा खर्च भएको छ
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९