काठमाडौँ। नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो ।
काठमाडौँ महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।
उक्त म्याद आइतबार सकिएपछि आइतबार बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र (बालेन) साह आफैँ खटिएका थिए ।
धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन् । जसले गर्दा मुख्य शहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९