काठमाडौँ । नेपाल टी-२० लिगको खेलाडी ड्राफ्ट, लिगमा सहभागी रहने बाँकी दुई टोलीको घोषणा र लिगको लोगो सार्वजनिक भदौको दोस्रो साता गरिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको ड्राफ्टसहित बाँकी टिम र लिगको आधिकारिक लोगो एकै पटक भदौ दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको हो ।
क्यानले लिगको मिति असोज ८ देखि कात्तिक ५ सम्म हुने घोषणा गरिसकेको छ । यस्तै लिगमा सहभागी हुने ६ टोलीमध्ये ४ टिम घोषणा भईसकेको छ । तर, प्रतियोगिता नजिकिदै गर्दा क्यानले बाँकी दुई टोली, खेलाडी ड्राफ्ट र अधिकारी लोगो सावर्जनिक गर्न सकेको छैन ।क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले लिगको तयारीका कारण ढिला हुन गएको बताए ।
नेपाली क्रिकेटलाई नयाँ लेभलमा पुर्याउने नेपाल टी-ट्वान्टी लिगका ६ टोली नै हामीसँग सुरुआतका दिन नै तयार थिए । ६ वटै टोलीलाई एकै दिन सार्वजनिक गर्ने हाम्रो तयारी रहे पनि सम्बन्धित टोलीका मालिकहरुले हाम्रो उपस्थितिमा मात्र गर्न अनुरोधमा पछि सारेका थियौ । अब खेलाडी ड्राफ्ट र टिम सार्वजनिक कार्यक्रम एकै पटक आयोजना हुनेछ,’ पाठकले भने, ‘लिगको लागि मैदान तयारको लगायतका कामहरु पनि तिव्र रुपले अघि बढि रहेको छ ।’
नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । जसमा विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९