काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अङ्कले घटेको छ । साताको पाँचौँ कारोबार दिन बिहीबार नेप्से १९.०६ अङ्क (०.९३ प्रतिशत)ले गिरावट हुँदा २०३७.८३ अङ्कमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो ।
नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार रकम पनि घटेको छ । सामूहिक लगानी कोष उपसूचक बाहेक सबै उपसूचक घटेको छ । सामूहिक लगानी कोष उपसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक २.३८ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैङ्किङ उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।
पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको मा बिहीबार लगातार दोस्रो दिन पनि कारोबार रकम दुई अर्बबाट तल झरेको छ । मङ्गलवार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजारको कारोबार भएको थियो । बिहीबार पनि ६२ लाख ९८ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड २७ लाख ७४ हजारको कारोबार हुँदा शिवम् हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख १५ हजारको कारोबार भएको छ ।
बुधबार बजारमा १८३ कम्पनीको सेयर कारोबारमा आएकोमा १५० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १ कम्पनीको सेयमूल्य भने स्थिर रहेको छ ।
बुधबार कारोबार भएकामध्ये हिमालयन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । दुवै कम्पनी हालै मात्रै सार्वजनिक निष्कासन भएर नेप्सेमा सूचीकृत भएका हुन् ।
यता युनिलिभर नेपालको सेयर मूल्य ८.२३ प्रतिशतले गिरावट भएको छ । यता बुद्ध भूमि हाइड्रोपावर नेपालको सेयर मूल्य ७.५६ प्रतिशतले गिरावट भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९