काठमाडौं । असार महिना लागे यता सिसडोलको फोहोरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहोर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ ।
नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) सम्म फोहोर लैजानका लागि यसअघि फोहोर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहोर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।
बञ्चरेडाँडामा केन्द्रमा फोहोर विसर्जन गर्न थाल्दा काठमाडौं उपत्यकावासीमा फोहोरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो । अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहोर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहोरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहोर लैजान अवरोध सिर्जना गरिरहेको छ ।
सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौंको फोहोर नियमित नउठेको पाइन्छ । अहिले पनि गाडीले धुलो उडायो र फोहोरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चार/पाँच घण्टा अवरोध गरिरहेको काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताइन् ।
उपत्यकाबाट फोहोर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा पुर्याउनुपर्छ । खासगरी त्रिशुली-बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक पटक आन्दोलन भइरहेको छ ।
दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुवै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ । एउटा ठेक्कामा अदालतबाट अन्तिम निणर्य आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो । सडक चाँडो बनाउन माग गर्दै पटक पटक आन्दोलन हुँदा फोहोरको गाडी रोकिने गरेको छ ।
तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो । विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ । विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक रहेको छ ।
सिसडोलको फोहोरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताइन् । सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ । अहिले फोहोरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो । वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘सडक साँघुरो छ । फोहोरको डङ्गुर माथि लैजानुपर्छ ।’
नयाँ केन्द्रमा फोहोर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ । हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताइन् । पहिले निर्माण गर्दा यो सडक पनि बस्तीभन्दा टाढा बनाइएको भए पनि बाटो बनेपछि बस्ती सडक छेउमै सरेको उनले बताइन् ।‘फोहोर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो’ उनले भनिन् ।
कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहोर नियमित जान सकिरहेको छैन । दैनिक चार/पाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहोर प्रभावित हुने र समस्या बढ्ने उहाँले बताउनुभयो । उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहोर बञ्चरेडाँडा लगिएको थियो । ‘बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ’ उनले भनिन् ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९