काठमाडौँ । नेपालमा कोभिड-१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो ।यस्तै, ३७.५ प्रतिशतमा एन्जाइटी, ३३.९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो ।
सन् २०२१ को मध्यमा स्वास्थ्य विज्ञानका विद्यार्थीमा गरिएको अर्को एक सर्वेक्षणमा ४३ प्रतिशतमा डिप्रेसन, ३३ प्रतिशतमा एन्जाइटी र २९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो ।
कोभिड–१९ संक्रमण भएका बिरामीहरूमा पनि १५ प्रतिशतमा एन्जाइटी र सात प्रतिशतमा डिप्रेसनको समस्या देखिएको थियो । यो सन् २०२० को मे र जुनमा विभिन्न अस्पतालका ज्वरो क्लिनिकहरूमा गरिएको सर्वेक्षण रिपोर्ट हो ।
महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.खगेश्वर गेलालाका अनुसार एकपटक संक्रमण भएकाहरूमा अहिले पनि यस्ता समस्या पोस्ट कोभिड लक्षणका रूपमा देखा परिरहेका छन् । विशेषगरी एक वा एकभन्दा बढी दीर्घरोग भएका ज्येष्ठ नागरिकलगायत व्यक्तिमा पोस्ट कोभिडको समस्या देखिएको डा. गेलालले बताए ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९