काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक(डिएसपी) मा एकै पटक बढुवा भएका बाबु-छोराले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् ।
बिहीबार प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएका दर्ज्यानी चिह्न लगाउने ६३ जनामध्ये दुई जना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी छन् ।
उनीहरूसहित बढुवा भएका डिएसपीलाई बुधवार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डिएसपीमा बढुवा भएका हुन् ।
राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक(असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव २०७५ सालमा प्राविधिकतर्फ इन्जिनियर इन्स्पेक्टरमा भर्ना भएका हुन् ।
बुबा राजेन्द्र २०५७ सालमा सई र २०६७ सालमा इन्स्पेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्ष पछि भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डिएसपीमा बढुवा हुने संयोग मिलेको हो ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९